सर्लाही, १६ भदौ । सर्लाहीको बलरा नगरपालिका–४ स्थित रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्र झामाथि विद्यार्थीको समूहले विद्यालय परिसरमै कुटपिट गरेको छ ।

गत शुक्रबार विद्यालयमा आयोजित सरसफाइ कार्यक्रममा प्रधानाध्यापक झाले छात्राहरूमाथि असभ्य शब्द प्रयोग गर्दै गालीगलौज गरेको आरोप विद्यार्थीले लगाएपछि सोमबार दिउँसो घटना भएको हो ।

विद्यार्थीले आरोपबारे प्रधानाध्यापकसँग माफी माग्न आग्रह गरे पनि उनले अस्वीकार गरेपछि विवाद बढ्दै कुटपिटमा परिणत भएको बताइएको छ ।

विद्यार्थीको समूहले झालाई विद्यालय परिसरमै लछारपछार गर्दै कुटपिट गर्नुका साथै अर्धनग्न बनाएको बताइएको छ ।

उनीहरूले प्रधानाध्यापक झाको निजी गाडीमा समेत तोडफोड गरी क्षति पुर्‍याएका छन् ।

घटनापछि विद्यालयको नियमित पठनपाठन प्रभावित भएको छ । बलरा नगरपालिका–४ घर भएका झा हाल रौतहटको शिवनगरमा बस्दै आएका छन् ।

सोमबारको घटनापछि आफू र बलराभन्दा बाहिरबाट विद्यालय आउने १०–१२ जना शिक्षक विद्यालय जान नसकेको झाको भनाइ छ ।

घटनामा संलग्न रहेको आरोपमा सर्लाही प्रहरीले बलरा नगरपालिका–२ का २० वर्षीय अभिषेक कापडलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार कापडलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ ।

यता, प्रधानाध्यापक झाले भने आफूले कुनै पनि छात्रामाथि असभ्य शब्द प्रयोग नगरेको दाबी गरेका छन् ।

उनले मंगलबार जिल्ला प्रहरी कार्यालय मलङ्गवा पुगेर प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेललाई घटनाबारे जानकारी गराएका छन् ।

विद्यालयको अवस्था सामान्य बनाउन बलरा नगरपालिकाले छानबिन समिति गठन गर्ने तयारी गरेको छ ।

नगरप्रमुख रामाशङ्करप्रसाद कुशवाहाले समितिको प्रतिवेदनका आधारमा घटनामा दोषी देखिएकामाथि कारबाही अघि बढाइने बताएका छन् ।

पठनपाठन प्रभावित भएपछि नगरप्रमुख कुशवाहा, शिक्षा अधिकृत तथा स्थानीय सुरक्षा अधिकारीसहितको टोली मंगलबार विद्यालय पुगेको थियो ।

टोलीले उपलब्ध शिक्षकलाई नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको नगरप्रमुखले जानकारी दिएका छन् ।

घटनामा विद्यार्थीले लगाएको आरोप र प्रधानाध्यापकको दाबीबीच वास्तविकता पत्ता लगाउन छानबिन आवश्यक देखिएको छ ।

विद्यालय परिसरमै शिक्षक कुटिएको र तोडफोड भएको घटनाले विद्यालयको सुरक्षा तथा शैक्षिक वातावरणबारे समेत प्रश्न उठाएको छ ।