जनकपुरधाम, १६ भदौ । धनुषाको नगराईन नगरपालिकामा गरिएको कुपोषण सर्वेक्षणमा वडा नम्बर २ का बालबालिकामा कुपोषणको अवस्था सबैभन्दा बढी देखिएको छ ।

नगरपालिकाले वैशाख २० गतेदेखि ३० गतेसम्म सबै वडामा सञ्चालन गरेको सर्वेक्षणमा लक्षित ५४६ बालबालिकामध्ये ३४३ जनाको तौल तथा पोषण अवस्थासम्बन्धी परीक्षण गरिएको थियो ।

सर्वेक्षणमा १३ जना बालबालिका गम्भीर कुपोषण र ४६ जना मध्यम कुपोषणको अवस्थामा रहेको पाइएको छ ।

सर्वेक्षणअनुसार परीक्षण गरिएका बालबालिकामध्ये गम्भीर कुपोषणको दर ३ दशमलव ७९ प्रतिशत र मध्यम कुपोषणको दर ९ दशमलव ६२ प्रतिशत रहेको उल्लेख छ ।

उमेरअनुसार उचाइ तथा तौल कम भएका बालबालिकाको अवस्थासमेत सर्वेक्षणमा समेटिएको छ ।

नगरपालिकाभित्रका वडामध्ये वडा नम्बर २ मा कुपोषित बालबालिकाको संख्या तुलनात्मक रूपमा बढी पाइएको सर्वेक्षणको निष्कर्ष छ ।

कुपोषणको प्रमुख कारणका रूपमा अभिभावकको लापरवाही तथा सरकारले उपलब्ध गराउँदै आएको पोषण भत्ताको उचित सदुपयोग हुन नसकेको जनाइएको छ ।

नगराईन नगरपालिकाका स्थानीय प्रदीप कुमार चौधरीले सरकारले बालबालिकाका लागि उपलब्ध गराउँदै आएको पोषण भत्ता उनीहरूको पोषण सुधारमा प्रयोग हुनुपर्नेमा जोड दिएका छन् ।

उनले पोषण भत्ताको सही सदुपयोग गरी बालबालिकालाई पोषणयुक्त र स्वस्थ बनाउन अभिभावक तथा सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।

बालबालिकामा देखिएको कुपोषण न्यूनीकरणका लागि अभिभावक, स्थानीय सरकार तथा सम्बन्धित सबै पक्षको सचेतना, अपनत्व र जिम्मेवारी आवश्यक रहेको सर्वेक्षणले औँल्याएको छ ।

नगरपालिकाले पनि पोषणसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउँदै कुपोषित बालबालिकाको पहिचान र उपचारमा थप ध्यान दिनुपर्ने देखिएको छ ।