बाढीपीडितका लागि सन्दीप लामिछानेको एक महिनाको तलब सहयोग
जनकपुरधाम, १४ भदौ । नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका छन् ।
मलेसियामा जारी एसीसी प्रिमियर कपका लागि नेपाली टोलीसँगै रहेका कप्तान लामिछानेले सामाजिक सञ्जालमार्फत आफूहरू देशबाट टाढा रहे पनि मन भने नेपालमै रहेको उल्लेख गर्दै विपद्को कठिन घडीमा बाढीपीडितप्रति ऐक्यबद्धता जनाएका हुन् ।
लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक १ लाख २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बताएका छन् ।
उनले प्रतियोगिताभर नेपालको प्रदर्शन बाढीबाट प्रभावित नागरिकप्रति समर्पित गर्ने उल्लेख गरेका छन् । साथै, एसीसी प्रिमियर कपमा नेपालले लिने हरेक विकेटबापत १ हजार ५ सय रुपैयाँ र प्रहार गर्ने हरेक चौका तथा छक्काबापत पनि १ हजार ५ सय रुपैयाँ बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
लामिछानेले विपद्का कारण प्रभावित बालबालिकाको भविष्य र सपनालाई निरन्तरता दिनुपर्ने सन्देश दिएका छन् । ‘उनीहरूको सपना कुनै बाढीले बगाउन सक्दैन,’ उनले भनेका छन् ।
उनले प्रतियोगितामा नेपालको हरेक विकेट, हरेक बाउन्ड्री र समर्थकको हरेक हुटिङ प्रभावित नेपालीका लागि समर्पित हुने बताए ।
बाढी तथा पहिरोका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला लामिछानेको यो घोषणालाई खेल क्षेत्रबाट विपद् प्रभावित नागरिकप्रति गरिएको सहयोग र ऐक्यबद्धताका रूपमा हेरिएको छ ।
यसअघि नेपाल क्रिकेट संघले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ ।
एसीसी प्रिमियर कपको समूह चरणमा नेपालले बहराइन, साउदी अरेबिया, मलेसिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोली प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विपद्मा परेका देशवासीमा उत्साह र हौसला भर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।


