मधेशको भविष्य युवाको नेतृत्वमा निर्भर: मण्डल

जानकपुरधाम, १० भदौ । मधेशको भविष्य निर्माणमा युवा पुस्ताको निर्णायक भूमिका हुनुपर्ने बहस पछिल्लो समय तीव्र बन्दै गएको छ ।
अधिकार प्राप्तिको लामो राजनीतिक संघर्षपछि अब मधेशले विकास, सुशासन, रोजगारी र आर्थिक आत्मनिर्भरताको नेतृत्व गर्नुपर्ने धारणा राजनीतिक वृत्तमा उठ्न थालेको हो ।
तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य उमेश मण्डलले मधेशको राजनीति अब अधिकारका माग र आन्दोलनमा मात्र सीमित नराखी विकास र नेतृत्वको दिशामा अघि बढाउनुपर्ने बताएका छन् ।
उनका अनुसार मधेशले लामो समयसम्म आफ्ना अधिकारका लागि आवाज उठाउँदै आएको भए पनि अब देशको नीति निर्माणमा निर्णायक भूमिका निर्वाह गर्ने गरी राजनीतिक सोच र नेतृत्व विकास गर्न आवश्यक छ ।
मण्डलले मधेशका युवालाई राजनीतिक अभियानमा भीडका रूपमा प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गरी उनीहरूलाई नीति निर्माण र निर्णय प्रक्रियाको नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
उनका अनुसार युवा नेतृत्व उमेरसँग मात्र जोडिएको विषय नभई विचार, क्षमता, अध्ययन, इमानदारी, निर्णय क्षमता र जनताप्रतिको उत्तरदायित्वसँग सम्बन्धित हुनुपर्छ ।
मधेशमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकासका क्षेत्रमा अझै थुप्रै चुनौती रहेको उल्लेख गर्दै मण्डलले अबको राजनीतिक एजेन्डा जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिनुपर्ने धारणा राखेका छन् ।
किसानले समयमा मल, बीउ र बजार पाउने अवस्था निर्माण गर्ने, युवालाई रोजगारी तथा उद्यमशीलताको अवसर दिने र शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने विषय राजनीतिको प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ छ ।
उनका अनुसार मधेशसँग ठूलो युवा जनशक्ति, कृषि सम्भावना, सीमावर्ती व्यापार, उद्योग तथा उद्यमशीलताको पर्याप्त सम्भावना भए पनि त्यसलाई योजनाबद्ध रूपमा उपयोग गर्न नसक्दा प्रदेशले अपेक्षित आर्थिक गति लिन सकेको छैन ।
अब राजनीतिक नेतृत्वले सम्भावनालाई परिणाममा बदल्ने स्पष्ट नीति र कार्ययोजना अघि सार्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।
पछिल्लो समय नेपाली राजनीतिमा युवाको सहभागिता बढ्दै गए पनि निर्णय तहमा उनीहरूको उपस्थिति अझै अपेक्षाकृत कमजोर रहेको देखिन्छ ।
चुनावका बेला युवा परिचालन गर्ने तर नीति निर्माणको तहमा पुरानै संरचना कायम राख्ने राजनीतिक संस्कार परिवर्तन गर्नुपर्ने आवाजसमेत उठिरहेको छ ।
मण्डलका अनुसार अब पुस्ता परिवर्तनको नारा मात्र पर्याप्त हुँदैन । राजनीतिक सोच, कार्यशैली र संस्कारमा समेत परिवर्तन आवश्यक छ ।
जनताले अब भाषणभन्दा कामको परिणाम खोजिरहेका कारण राजनीतिक दल र नेताहरूको मूल्यांकन उनीहरूले गरेका प्रतिबद्धता र त्यसको कार्यान्वयनका आधारमा हुनुपर्ने उनको धारणा छ ।
मधेशको राजनीतिक भविष्यलाई युवाको नेतृत्व क्षमतासँग जोडेर हेर्नुपर्ने बताउँदै मण्डलले नयाँ पुस्तालाई अवसर मात्र नभई जिम्मेवारीसमेत दिनुपर्ने बताएका छन् ।
युवालाई दर्शक वा राजनीतिक अभियानका सहभागीका रूपमा मात्र नभई निर्णयकर्ता र नेतृत्वकर्ताका रूपमा स्थापित गर्न सके मधेशको राजनीतिले नयाँ दिशा लिन सक्ने उनको विश्वास छ ।
मधेशको भविष्य, युवा नेतृत्व र नेपालको समग्र विकासलाई एउटै राजनीतिक एजेन्डासँग जोडेर अघि बढ्न सके मात्रै परिवर्तनले वास्तविक अर्थ पाउने देखिन्छ ।
अबको चुनौती अधिकार प्राप्त गर्नु मात्र नभई प्राप्त अधिकारलाई विकास, रोजगारी, सुशासन र समृद्धिमा रूपान्तरण गर्नु हो । यही रूपान्तरणको नेतृत्व गर्न मधेशका युवाले आफूलाई तयार पार्नुपर्ने बहसले पछिल्लो समय थप महत्व पाउँदै गएको छ ।

