प्रादेशिक अस्पताल जोगाउन स्वास्थ्यकर्मीको दुईबुँदे माग, मन्त्रालयलाई ध्यानाकर्षण

जनकपुरधाम, १० भदौ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको अस्तित्व र स्थायी दरबन्दी कायम गर्नुपर्ने माग गर्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
संघीयता कार्यान्वयनसँगै मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको प्रादेशिक अस्पताल जनकपुरले धनुषासहित आसपासका चार/पाँच जिल्लाका सर्वसाधारणलाई उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको भन्दै कर्मचारीहरूले अस्पतालको संरचना र अस्तित्व कमजोर पार्ने कुनै पनि प्रक्रिया रोक्न माग गरेका हुन् ।
स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएपछि प्रादेशिक अस्पतालको पहिचान र संरचना क्रमशः कमजोर हुँदै गएको बताएका छन् ।
उनीहरूका अनुसार अस्पतालको अस्तित्व नै विलिन हुने अवस्था आएमा यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको वृत्ति विकासमा समेत असर पर्नेछ भने ठूलो संख्यामा सेवाग्राही सरकारीस्तरको उच्च स्वास्थ्य सेवाबाट वञ्चित हुने जोखिम छ ।
उनीहरूले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७७ मा आवश्यक संशोधन गरी प्रादेशिक अस्पताल जनकपुरको स्थापित अस्तित्व कायम राख्नुपर्ने माग गरेका छन् ।
अस्पतालमा रहेका स्थायी दरबन्दी कायम गर्दै स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको पदस्थापन, सरुवा र बढुवासम्बन्धी व्यवस्था प्रदेश निजामती सेवा ऐन, २०७७ सरह निरन्तर कायम गर्नुपर्ने उनीहरूको माग छ ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) सर्भेमा प्रादेशिक अस्पताल जनकपुरलाई समेत समेटेर अस्पतालको स्तरोन्नति गर्न र सोहीअनुसार आवश्यक दरबन्दी तथा पद संरचना कायम गर्नुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्रमा पहिलो मागका विषयमा प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च पदाधिकारीबीच छलफल भई ऐन संशोधनका लागि आवश्यक बुँदासमेत तयार भइसकेको उल्लेख गरिएको छ ।
स्वास्थ्यकर्मीहरूले आफ्ना माग यथाशीघ्र सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेका छन् । माग सम्बोधनमा मन्त्रालय गम्भीर नदेखिए सेवाग्राही र सेवाप्रदायक दुवै पक्ष प्रभावित हुने भन्दै उनीहरूले चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
आन्दोलनका कारण स्वास्थ्य सेवामा उत्पन्न हुन सक्ने असहज परिस्थितिबाट सेवाग्राहीमा पर्ने क्षतिको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिनुपर्ने उनीहरूको भनाइ छ ।
स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले प्रादेशिक अस्पताल जनकपुरको संस्थागत अस्तित्व जोगाउँदै अस्पताललाई थप व्यवस्थित र स्तरीय बनाउनेतर्फ सरकार तत्काल अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

