जनकपुरधाम, ०९ भदौ । न्युजिल्यान्डका अनुभवी अलराउन्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत ३५ वर्षीय नीशमलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो ।

पहिलो संस्करणमा जनकपुरलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका नीशम पुनः टोलीमा फर्किएपछि जनकपुरको टोली थप बलियो हुने विश्वास गरिएको छ ।

एनपीएलको पहिलो संस्करणमा नीशमले जनकपुरबाट ९ खेल खेल्दै २४७ रन बनाएका थिए । उच्च स्ट्राइक रेटका साथ ब्याटिङ गरेका उनले बलिङतर्फ पनि ७ विकेट लिएका थिए ।

उत्कृष्ट स्ट्राइक रेटका कारण उनले प्रतियोगिताको ‘बेस्ट स्ट्राइक रेट’ अवार्डसमेत पाएका थिए ।

जनकपुरलाई पहिलो संस्करणको च्याम्पियन बनाउन योगदान दिएका नीशम त्यसपछि दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेलेका थिए ।

पोखराबाट चार खेल खेलेका उनले एक अर्धशतकसहित ९९ रन बनाउनुका साथै ५ विकेट लिएका थिए ।

यसपटक भने नीशम टेस्ट कोटाबाट जनकपुर बोल्ट्समा आबद्ध भएका हुन् ।

टोली व्यवस्थापनले उनलाई पुनः जनकपुरमा ल्याउनुलाई समर्थकसँगको भावनात्मक सम्बन्धसँग पनि जोडेको छ ।

जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले नीशम मैदानमा मात्र नभई समर्थकमाझ पनि विशेष लोकप्रिय रहेको बताएका छन् ।

च्याम्पियन बनेको पहिलो सिजनका प्रमुख खेलाडी पुनः टोलीमा फर्किनु जनकपुरका लागि विशेष उपलब्धि भएको उनको भनाइ छ ।

न्युजिल्यान्डका लागि नीशमले टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।

उनले विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा समेत अनुभव बटुलेका छन् ।

एनपीएलको पहिलो संस्करणमै जनकपुरलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका नीशमको पुनरागमनसँगै आगामी संस्करणमा जनकपुर बोल्ट्सबाट समर्थकले थप प्रभावशाली प्रदर्शनको विश्वास गरेका छन् ।