जनकपुरधाम, ०८ भदौ । जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई अनिवार्य रूपमा सामाजिक परीक्षण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले एक सूचना जारी गर्दै विद्यालयहरूले सामाजिक परीक्षण नगराउने गरेको गुनासो आएको भन्दै सम्बन्धित विद्यालयलाई सामाजिक परीक्षण गर्न निर्देशन दिएको हो ।

शाखा प्रमुख अन्जु पाण्डेयद्वारा हस्ताक्षरित पत्रमा शिक्षा नियमावली, २०५९ को नियम १७१क तथा विद्यालय सामाजिक परीक्षण मापदण्ड, २०७८ बमोजिम प्रत्येक सामुदायिक विद्यालयले सामाजिक परीक्षण गराउनुपर्ने उल्लेख गरिएको छ ।

उपमहानगरपालिकाले सामाजिक परीक्षण सम्पन्न गरी त्यसको प्रतिवेदन शिक्षा, युवा तथा खेलकुद विकास शाखामा अनिवार्य रूपमा पेश गर्नसमेत भनेको छ ।

विद्यालयको शैक्षिक, आर्थिक तथा व्यवस्थापकीय गतिविधिमा पारदर्शिता र जवाफदेहिता कायम गर्न सामाजिक परीक्षण महत्वपूर्ण मानिन्छ ।

सामाजिक परीक्षणमार्फत विद्यालयको सञ्चालन, स्रोतको उपयोग, शैक्षिक उपलब्धि तथा विद्यालय र समुदायबीचको सम्बन्धलगायत विषयको समीक्षा गरिने व्यवस्था छ ।

जनकपुरधाम उपमहानगरपालिकाले सोमबार पत्र जारी गर्दै नगर क्षेत्रका सबै सामुदायिक विद्यालयलाई उक्त निर्देशन कार्यान्वयन गर्न आग्रह गरेको हो ।