जनकपुरधाम, ०७ भदौ । मधेश प्रदेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय पहुँच कमजोर देखिएको छ ।

उपलब्ध तथ्यांकअनुसार मधेशमा २८ दशमलव ८५ प्रतिशत अपाङ्गता भएका बालबालिका कहिल्यै विद्यालय नगएको पाइएको छ । प्रदेशगत रूपमा यो अवस्था गम्भीर देखिएको छ ।

तथ्यांकअनुसार मधेश प्रदेशमा अपाङ्गता भएका बालबालिकामध्ये ६५ दशमलव ०५ प्रतिशत मात्रै हाल विद्यालयमा अध्ययनरत छन् । यसले ठूलो संख्यामा बालबालिका शिक्षाको नियमित पहुँचबाट बाहिर रहेको देखाउँछ ।

राष्ट्रिय तथ्यांकअनुसार ० देखि १७ वर्ष उमेर समूहका बालबालिकामध्ये १ दशमलव २५ प्रतिशतमा अपाङ्गता पहिचान भएको छ ।

अपाङ्गता भएका बालबालिकामध्ये देशभर ७५ दशमलव ९१ प्रतिशत हाल विद्यालयमा अध्ययनरत छन् । तर, १६ दशमलव ५५ प्रतिशतले कहिल्यै विद्यालय टेकेका छैनन् भने ७ दशमलव ६५ प्रतिशत विद्यालय गए पनि हाल अध्ययनरत छैनन् ।

प्रदेशगत तुलना गर्दा कर्णालीमा अपाङ्गता भएका बालबालिकाको विद्यालय सहभागिता ८४ दशमलव ०५ प्रतिशत रहेको छ । यसको तुलनामा मधेशको ६५ दशमलव ०५ प्रतिशत सहभागिता निकै कम हो ।

अपाङ्गता भएका बालबालिका विद्यालयबाहिर रहनुमा विद्यालयसम्मको पहुँचको कमी, भौगोलिक कठिनाइ, अपाङ्गतामैत्री पूर्वाधारको अभाव, आवश्यक सहायक सामग्री नहुनु, परिवारको आर्थिक अवस्था र सामाजिक दृष्टिकोणलगायतका कारण देखिएका छन् ।

विशेष आवश्यकता भएका बालबालिकाका लागि विद्यालयमा आवश्यक सहयोग र पहुँचयुक्त संरचना नहुँदा भर्ना भएका बालबालिकासमेत बीचमै पढाइ छाड्ने जोखिम रहेको अध्ययनले देखाएको छ ।

त्यसैले मधेशमा अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना गराउनेसँगै निरन्तर अध्ययनका लागि आवश्यक वातावरण निर्माण गर्नु चुनौतीपूर्ण देखिएको छ ।

लैङ्गिक तथ्यांकअनुसार कुल अपाङ्गता भएका जनसंख्यामध्ये ५४ दशमलव २५ प्रतिशत पुरुष र ४५ दशमलव ८५ प्रतिशत महिला रहेका छन् । त्यस्तै, ग्रामीण क्षेत्रमा अपाङ्गताको दर २ दशमलव ६५ प्रतिशत र सहरी क्षेत्रमा २ दशमलव ०५ प्रतिशत रहेको छ ।

नेपालको संविधानले आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क हुने व्यवस्था गरेको छ ।

अपाङ्गता भएका नागरिकका लागि समेत शिक्षामा विशेष अधिकार सुनिश्चित गरिएको भए पनि मधेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय पहुँचसम्बन्धी तथ्यांकले कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको देखाएको छ ।