जनकपुरधाम, ०६ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफू नेपालबाहिर जाने भएपछि भौतिक पूर्वाधार विकासमन्त्री मो. समिरलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

मुख्यमन्त्री यादवले मन्त्री समिरलाई पत्र पठाउँदै धार्मिक प्रयोजनका लागि नेपालबाहिर जानुपर्ने भएकाले आफू फर्किएर नआउन्जेलसम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको जानकारी गराएका हुन् ।

मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम मन्त्री समिरलाई कार्यवाहक मुख्यमन्त्री तोकेको पत्रमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री यादवले २०८३ साल भदौ ६ गतेदेखि आफू स्वदेश नफर्किएसम्म समिरले कार्यवाहक मुख्यमन्त्रीका रूपमा प्रदेश सरकारको नेतृत्व गर्नेछन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यवाहक मुख्यमन्त्री तोकिएको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई समेत गराएको छ ।

मन्त्री समिरलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएसँगै मुख्यमन्त्री यादवको अनुपस्थितिमा प्रदेश सरकारका नियमित प्रशासनिक तथा कार्यकारी कामकारबाही अघि बढाउने जिम्मेवारी उनको काँधमा आएको छ ।