ट्याक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही, ०५ भदौ । सर्लाहीको सदरमुकाम मलङ्गवामा ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
शुक्रबार बिहान मलङ्गवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकमा ज १ त ५२४६ नम्बरको ट्याक्टरले पैदल हिँडिरहेकी गोडैता नगरपालिका–५ निवासी २३ वर्षीया गुरिया कुमारीलाई ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी गुरिया कुमारीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
दुर्घटनापछि प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोडैता नगरपालिका–११ निवासी १७ वर्षीय अजय साह रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न चालकसँग सवारीसम्बन्धी कुनै पनि कागजात फेला परेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

