अग्रगामी मोर्चाको मधेश प्रदेश समिति गठन, भदौ २७ मा जनकपुरधाममा क्षेत्रीय भेला

जनकपुरधाम, ०५ भदौ । विभिन्न ९ राजनीतिक दल सम्मिलित ‘अग्रगामी मोर्चा’को मधेश प्रदेशस्तरीय बैठक जनकपुरधाममा सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न बैठकले मोर्चाको संगठन विस्तार र आगामी राजनीतिक गतिविधिबारे विभिन्न निर्णय गरेको छ ।
बैठकले घटक दलहरूको प्रतिनिधित्व रहने गरी मधेश प्रदेश समन्वय समिति गठन गरेको छ । साथै, प्रदेशका आठवटै जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने जिम्मेवारीसमेत विभिन्न घटक दललाई बाँडफाँट गरिएको छ ।
निर्णयअनुसार भदौ १० गतेभित्र सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा जिल्ला समन्वय समिति गठन गरिनेछ ।
त्यसका लागि सप्तरीमा जनमत पार्टी, सिरहामा बहुजन एकता पार्टी, महोत्तरीमा नेपाल जनमुक्ति पार्टी, सर्लाहीमा नागरिक उन्मुक्ति पार्टी, रौतहटमा आम जनता पार्टी, बारामा जसपा नेपाल र आजपा, धनुषामा जसपा नेपाल तथा पर्सामा प्रगतिशील लोकतान्त्रिक पार्टीलाई जिम्मेवारी दिइएको छ ।
मोर्चाले संगठन विस्तार तथा जनपरिचालनलाई तीव्रता दिन दुईवटा ठूला क्षेत्रीय भेला गर्ने निर्णयसमेत गरेको छ ।
भदौ २७ गते जनकपुरधाममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका प्रतिनिधि सहभागी हुने संयुक्त क्षेत्रीय भेला आयोजना गरिनेछ ।
त्यस्तै, रौतहट, बारा र पर्सालाई समेटेर असोज ३ गते वीरगन्जमा बृहत् क्षेत्रीय भेला आयोजना गर्ने निर्णय भएको छ ।
बैठकले हालै सिरहाका गणेश यादवको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको तथा बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
मोर्चाले दुवै घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई तत्काल न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनमुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टीलगायत दलको सहभागिता रहेको छ ।

