जनकपुरधाम, ०५ भदौ । नेपाली कांग्रेस मधेश प्रदेशका सभापति एवं मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति चन्द्रेश्वरकुमार यादवलाई दिएका छन् ।

मुख्यमन्त्रीका रूपमा आफ्नो व्यस्तता बढेकाले पार्टी संगठनका नियमित गतिविधि तथा कार्यसमितिको कामलाई निरन्तरता दिन उपसभापति यादवलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको कांग्रेस मधेश प्रदेश प्रचारप्रसार समितिका संयोजक नितिशकुमार गुप्ताले जानकारी दिए ।

सभापति यादवले कांग्रेस विधान २०७६ को ११औँ संशोधनसहितको धारा १३ को उपधारा १०(ड) बमोजिम कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन् ।

कार्यवाहक सभापतिको जिम्मेवारी पाएसँगै यादवले सभापतिको अनुपस्थितिमा प्रदेश कार्यसमितिका नियमित कामकारबाही, संगठनात्मक गतिविधि तथा आवश्यक निर्णय प्रक्रियालाई पार्टीको विधान, नियमावली र स्थापित पद्धतिअनुसार अघि बढाउनेछन् ।

मुख्यमन्त्रीको जिम्मेवारीसँगै प्रदेश सरकारका काममा व्यस्त हुनुपर्ने अवस्था रहेकाले पार्टी संगठनको काम प्रभावित नहोस् भन्ने उद्देश्यले कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको कांग्रेसले जनाएको छ ।