मधेश प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य, १७ बैठकमा १८ घण्टाभन्दा कम समय सभा सञ्चालन
जनकपुरधाम, ०५ भदौ । मधेश प्रदेशसभाको चालु सातौँ अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको छ ।
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता सञ्जिप कुमार दुब्बेले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख कर्णले अधिवेशन अन्त्य गरेको जानकारी दिए ।
सातौँ अधिवेशनमा प्रदेशसभाका जम्मा १७ वटा बैठक बसेका थिए । ती बैठकमा प्रदेशसभा कुल १७ घण्टा ५९ मिनेट मात्र सञ्चालन भएको प्रदेशसभा सचिवालयको विवरणमा उल्लेख छ ।
प्रदेशसभाको अधिवेशन अन्त्य भएसँगै चालु अधिवेशनमा अघि बढाइएका विधायिकी तथा अन्य संसदीय कामकारबाहीसमेत तत्कालका लागि रोकिएका छन् ।
प्रदेशसभाको आगामी अधिवेशन कहिले आह्वान गर्ने भन्ने विषय भने प्रदेश सरकारको सिफारिस र संवैधानिक प्रक्रियाअनुसार तय हुनेछ ।



