सुनसरी, ०४ भदौ । इटहरी उपमहानगरपालिका वडा नम्बर–७ गडीघाट चौकमा सञ्चालन हुँदै आएको बिहीबारे हटियाको प्रथम वार्षिक उत्सव बिहीबार सम्पन्न भएको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष देवनारायण चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा हटियामा नियमित रूपमा व्यापार गर्दै आएका करिब ५ दर्जन व्यापारीलाई खादा तथा माला लगाएर सम्मान गरिएको हो ।

वार्षिक उत्सवका अवसरमा हटियाको विकास, व्यवस्थापन तथा आगामी दिनमा बजारलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बजार व्यवस्थापन समिति, व्यापारी तथा स्थानीयको सहभागिता रहेको थियो ।

हटियामा स्थानीय किसान तथा व्यवसायीले उत्पादन तथा दैनिक उपभोग्य सामग्री बिक्री गर्ने अवसर पाउँदै आएका छन् ।

प्रत्येक बिहीबार सञ्चालन हुँदै आएको हटियामा तरकारी, फलफूल, माछामासु, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री बिक्री हुँदै आएको छ ।

कार्यक्रममा बजार व्यवस्थापन समितिका सचिव जयनारायण चौधरीले हटियाको एक वर्षको यात्रामा साथ दिने व्यापारी तथा स्थानीयप्रति आभार व्यक्त गर्दै आगामी दिनमा बजारलाई थप व्यवस्थित र आकर्षक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

हटियाको वार्षिक उत्सवले स्थानीय व्यापारीलाई प्रोत्साहन गर्नुका साथै गडीघाट क्षेत्रलाई व्यवस्थित व्यापारिक केन्द्रका रूपमा विकास गर्न थप ऊर्जा मिलेको आयोजकको भनाइ छ ।