शैक्षिक स्तर सुधारबिना समुन्नत मधेश सम्भव छैन: मन्त्री सिंह

जनकपुरधाम, ०४ भदौ । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज सिंहले मधेशको शैक्षिक अवस्था सुधार नगरेसम्म समुन्नत मधेश निर्माण सम्भव नहुने बताएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले जनकपुरधाममा आयोजना गरेको प्रदेशस्तरीय युवा सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री सिंहले सातवटै प्रदेशमध्ये मधेशको शैक्षिक अवस्था कमजोर रहेकाले अहिलेको मुख्य प्राथमिकता शिक्षा क्षेत्रको सुधार हुनुपर्ने बताए ।
उनले शिक्षा क्षेत्र कमजोर अवस्थामा रहेसम्म प्रदेशको समग्र विकासले गति लिन नसक्ने उल्लेख गर्दै मधेशको शिक्षा क्षेत्रको सुधारका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
मन्त्री सिंहले मधेशको शैक्षिक अवस्था नाजुक रहेको जानकारी हुँदाहुँदै पनि संघीय सरकारले प्रदेशलाई आवश्यक विशेष तथा सशर्त अनुदान उपलब्ध नगराएको गुनासो गरे । प्रदेश सरकारलाई पर्याप्त अधिकारसमेत नदिइएको उनको भनाइ थियो ।
‘एकातिर प्रदेश सरकारलाई अधिकार दिइएको छैन, अर्कोतर्फ मधेशको शैक्षिक अवस्था नाजुक हुँदाहुँदै संघ सरकारले न विशेष अनुदान दियो, न सशर्त अनुदान नै,’उनले भने ।
मन्त्री सिंहले प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै विद्यार्थीलाई सूचना प्रविधिसँग जोडेर अघि बढाउने तयारी गरिरहेको जानकारी दिए ।
बदलिँदो समयअनुसार विद्यार्थीलाई प्रविधि, सीप र रोजगारीसँग जोड्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा एनसीई नेपालका केन्द्रीय सचिव कमलेश मण्डलले युवाको आवाजलाई नीति निर्माणको तहसम्म पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।
सार्वजनिक शिक्षा सुधारका लागि रचनात्मक संवादको वातावरण निर्माण गर्नु सम्मेलनको अर्को उद्देश्य रहेको उनले जानकारी दिए ।
शिक्षा सुधारका अभियानमा युवाको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्न क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्दै आएको मण्डलले बताए ।
तीनै तहका सरकारले युवाका लागि गुणस्तरीय शिक्षा, सीप तथा रोजगारी, नेतृत्व विकास र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्ने नीति अघि सारे पनि कार्यान्वयनमा अझै थुप्रै चुनौती रहेको उनको भनाइ थियो ।
ती चुनौती समाधानका लागि युवालाई नै अग्रपंक्तिमा ल्याउने अभियानको योजना रहेको मण्डलले बताए ।
सम्मेलनमा मधेश प्रदेशका प्रदेशसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा प्रदेशका आठवटै जिल्लाबाट आएका युवाहरूको सहभागिता रहेको थियो ।

