रास्वपाको मधेश प्रदेश अधिवेशन अन्योलमा

जनकपुरधाम, ०४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश अधिवेशन महाधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि अन्योलमै रहेको छ ।
पार्टीभित्रको विवाद, निर्वाचित सांसदहरूको हस्तक्षेप तथा जातीय समूहबीचको मतभेदका कारण स्थगित भएको अधिवेशनको नयाँ मिति अझै तय हुन सकेको छैन ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मधेश प्रदेशको अधिवेशनको तयारी औपचारिक रूपमा अघि बढाउन सकेको छैन ।
आयोगका उपप्रमुख राम गुरुङका अनुसार मधेशको परिस्थिति अन्य प्रदेशभन्दा फरक भएकाले अधिवेशन सञ्चालनका लागि पार्टी नेतृत्वसँग निरन्तर छलफल भइरहेको छ ।
उनका अनुसार दसैँअघि अधिवेशन गराउने विषयमा छलफल भए पनि अहिलेसम्म ठोस निर्णय भइसकेको छैन ।
मधेश प्रदेशको अधिवेशन निष्पक्ष, पारदर्शी र विधिसम्मत रूपमा सम्पन्न गर्नुपर्ने भन्दै केन्द्रीय निर्वाचन आयोगले यसअघि अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित गरेको थियो ।
पार्टीभित्र दुई पक्षबीच विवाद बढ्दै गएपछि अवस्था थप जटिल बनेको थियो ।
विवाद समाधानका लागि रास्वपा सभापति रवि लामिछानेले मधेशबाट प्रतिनिधित्व गर्ने सांसद तथा पार्टी नेताहरूसँग छलफल गरेका थिए ।
त्यस क्रममा मधेशको विवाद समाधान गरी अधिवेशन आफ्नै पहलमा गराउने प्रतिबद्धता जनाइएको थियो । त्यसपछि तत्कालका लागि विवाद मत्थर भए पनि अधिवेशनको प्रक्रिया भने अघि बढ्न सकेको छैन ।
मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सामा मात्र अधिवेशन सम्पन्न भएको छ । पर्सामा स्थानीय नेताहरूको पहलमा नयाँ कार्यसमिति चयन गरिएको थियो । यद्यपि, त्यहाँ पनि अधिवेशनका क्रममा विवाद र झडपका घटना भएका थिए ।
मधेशका अन्य जिल्लामा भने संस्थापक नेता तथा संघीय सांसदहरूको प्रभाव, स्थानीय गुटबन्दी र जातीय आधारमा देखिएको मतभेदका कारण अधिवेशन गराउन चुनौती देखिएको पार्टीभित्रकै नेताहरू बताउँछन् ।
रास्वपाले मधेशबाहेक अधिकांश प्रदेशमा अधिवेशन प्रक्रिया अघि बढाइसकेको छ । तर, मधेशमा लामो समयदेखि अधिवेशन रोकिँदा प्रदेश संगठनको नेतृत्व र जिल्ला तहका संरचनाबारे अन्योल कायम छ ।
पार्टीको पहिलो केन्द्रीय महाधिवेशन सम्पन्न भएको लामो समय बितिसक्दा पनि मधेशमा संगठनात्मक प्रक्रिया टुंगोमा पुग्न नसक्नुले रास्वपाभित्रको आन्तरिक व्यवस्थापन र गुटगत विवादलाई समेत उजागर गरेको छ ।

