बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो
काठमाडौं, ०३ भदौ । सरकारले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक ५ हजार रुपैयाँ थप गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढाइएको जानकारी दिए ।
सरकारले उनीहरूलाई उपलब्ध गराउँदै आएको पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरेसँगै बालविकास सहजकर्ता तथा विद्यालयका कर्मचारी र सहयोगीले यसअघि पाउँदै आएको रकममा मासिक ५ हजार रुपैयाँ थप पाउने भएका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार संघीय सरकारले उपलब्ध गराउने पारिश्रमिकमा उक्त वृद्धि लागू हुनेछ ।


