जनकपुरधाम, ०३ भदौ । जनकपुर न्युरो अस्पतालले आर्थिक अवस्था कमजोर भएका दुई बिरामीको उपचारमा ११ लाख रुपैयाँभन्दा बढीको सहुलियत प्रदान गरेको छ ।

महोत्तरीको औरही नगरपालिका र सम्सी गाउँपालिकाबाट उपचारका लागि आएका दुई बिरामीलाई अस्पतालले उपचार खर्चमा ठूलो रकम छुट दिएको हो ।

अस्पताल प्रशासनका अनुसार सडक दुर्घटनामा गम्भीर घाइते भएका औरही नगरपालिका–५ श्रीपुरका २८ वर्षीय राजकुमार मुखियालाई पाँच लाख रुपैयाँभन्दा बढीको उपचार सहुलियत दिइएको छ ।

त्यस्तै, सम्सी गाउँपालिका–३ बैरगियाकी ५५ वर्षीया अमिना खातुनलाई पाँच लाख ७१ हजार रुपैयाँको सहुलियत प्रदान गरिएको छ ।

न्युरो अस्पतालका प्रशासन प्रमुख मनोज राउतका अनुसार बिरामी तथा उनीहरूका परिवारको आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि अस्पताल व्यवस्थापनले उपचार खर्चमा सहुलियत दिने निर्णय गरेको हो ।

सडक दुर्घटनामा गम्भीर घाइते भएका मुखियाले प्राथमिक उपचार तथा प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराएपछि थप उपचारका लागि न्युरो अस्पताल पुगेका थिए ।

उपचार खर्च धान्न परिवारलाई कठिनाइ भएपछि अस्पतालले पाँच लाख रुपैयाँभन्दा बढी रकम छुट गरेको मुखियाकी भाउजु विणा मुखियाले बताइन् ।

त्यस्तै, आफ्नै घरको चापाकलमा लडेर टाउकोमा गम्भीर चोट लागेपछि खातुनलाई उपचारका लागि न्युरो अस्पताल ल्याइएको थियो ।

परिवारको आर्थिक अवस्था कमजोर रहेको जानकारी गराएपछि अस्पतालले पाँच लाख ७१ हजार रुपैयाँ बराबरको उपचार खर्चमा सहुलियत दिएको उनका छोरा इसराफुल शेषले बताए ।

अस्पताल प्रशासनले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विपन्न बिरामीलाई उपचारमा सक्दो सहुलियत प्रदान गर्दै आएको जनाएको छ ।