जनकपुरधाम, ३१ साउन । शिक्षा ऐन निर्माणअघि शिक्षा तथा खेलकुद मन्त्रालयले सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत मधेश प्रदेशमा दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ ।

जनकपुरधामस्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयमा प्रधानाध्यापक एसोसिएसन नेपालको सहजीकरणमा आयोजित कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाबाट शिक्षा क्षेत्रका २११ जना सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विद्यालय शिक्षा महाशाखा प्रमुख शिव सापकोटा, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा अभियन्ता अभिषेक घिमिरेलगायतको सहभागिता थियो ।

कार्यक्रममा शिक्षक, प्रधानाध्यापक, अभिभावक तथा शिक्षा क्षेत्रमा क्रियाशील अगुवाहरूले आगामी शिक्षा ऐनमा समेटिनुपर्ने विषयबारे सुझाव दिएका थिए ।

उनीहरूले विद्यालय शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनुपर्ने, विद्यालय तहमा देखिएका व्यवहारिक समस्या समाधान गर्नुपर्ने तथा शिक्षक र विद्यालयका आवश्यकतालाई ऐनमा स्पष्ट रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

सरोकारवालाहरूले विद्यालय शिक्षाको विकासमा स्थानीय समुदायको अपनत्व र सहभागिता बढाउनुपर्ने धारणा राख्दै शिक्षा सुधारका लागि नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सरोकारवालाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएका थिए ।

मन्त्रालयले शिक्षा ऐन निर्माणका क्रममा देशभरका शिक्षा क्षेत्रका सरोकारवालाको प्रत्यक्ष सुझाव संकलन गर्ने उद्देश्यले सातै प्रदेशमा ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

संवादबाट प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा शिक्षा सुधारसम्बन्धी नीति निर्माणमा समेटिने मन्त्रालयको भनाइ छ ।

अभियानले केन्द्रबाट मात्र नीति निर्माण गर्ने परम्पराभन्दा विद्यालय तहमा देखिएका वास्तविक समस्या र सरोकारवालाका अनुभवलाई समेटेर शिक्षा कानुन निर्माणमा जोड दिएको छ ।