बलवामा दुई कोठे विद्यालय र सामुदायिक भवन उद्घाटन

महोत्तरी, ३१ साउन । महोत्तरीको बलवा नगरपालिकामा विद्यालयको भौतिक पूर्वाधार विस्तारसँगै नवनिर्मित दुई कोठे विद्यालय भवन र तीन कोठे सामुदायिक भवन उद्घाटन गरिएको छ ।
बलवा नगरपालिका–२ बदियास्थित श्री माध्यमिक विद्यालयको नवनिर्मित दुई कोठे भवन नगरप्रमुख रामविजय महतोले उद्घाटन गरेका हुन् ।
विद्यालयमा कक्षाकोठाको अभावका कारण पठनपाठनमा समस्या हुँदै आएपछि नगरपालिकाको बहुवर्षीय बजेटबाट भवन निर्माण गरिएको नगरप्रमुख महतोले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख महतोले नगर क्षेत्रका विद्यालयमा अझै पनि शिक्षक, कक्षाकोठा तथा भौतिक पूर्वाधारको अभाव रहेको बताउँदै शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए ।
उनका अनुसार शिक्षक अभाव पूर्ति गर्न नगरपालिकाले विज्ञापन आह्वान गर्दा ३६ जनाले आवेदन दिएका थिए । तीमध्ये १६ जना मात्रै छनोट भएका छन् ।
‘शिक्षकको अभाव छ । तर, विद्यालयको पठनपाठन प्रभावित हुन नदिन नगरपालिकाले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको छ,’उनले भने ।
विद्यालयका प्रधानाध्यापक मणिराम ठाकुरले विद्यालयमा १२ वटा कक्षाकोठा रहे पनि एल्बेस्टर र टिनको छाना भएका कोठामा गर्मी मौसममा विद्यार्थीलाई पठनपाठन गर्न कठिन हुने गरेको बताए । नयाँ भवन निर्माणपछि विद्यार्थी तथा शिक्षकलाई सहज हुने उनको भनाइ छ ।
प्रधानाध्यापक ठाकुरका अनुसार विद्यालयमा हाल ४५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको सङ्ख्याको तुलनामा शिक्षक पर्याप्त नभएकाले विषयगत शिक्षकको व्यवस्था गर्न उहाँले नगरप्रमुखसँग आग्रह गरे ।
कार्यक्रममा बलवा नगरपालिका–२ का वडाध्यक्ष शशीभूषण साह, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतो, शिक्षा शाखा संयोजक राजकिशोर झा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
यसैबीच, नगरप्रमुख महतोले सोही वडामा निर्माण गरिएको तीन कोठे सामुदायिक भवनको समेत उद्घाटन गरेका छन् ।
नगरपालिकाको बजेटबाट निर्माण भएका दुवै भवनले स्थानीयस्तरमा शैक्षिक तथा सामुदायिक गतिविधि सञ्चालनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

