बरहथवा नगर अस्पतालमा प्रसूति सेवा प्रभावकारी बन्दै

सर्लाही, ३१ साउन । शल्यक्रियासहितको प्रसूति सेवा स्थानीयस्तरमै उपलब्ध हुन थालेपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको छ ।
विशेषज्ञ चिकित्सक, आवश्यक उपकरण तथा निःशुल्क उपचार सेवा उपलब्ध भएपछि बरहथवा मात्रै नभई आसपासका स्थानीय तहबाट समेत गर्भवती महिला प्रसूति सेवाका लागि अस्पताल पुग्न थालेका छन् ।
सङ्घीय सरकारको ‘एक नगरपालिका, एक सुविधा सम्पन्न अस्पताल’ अवधारणाअनुसार निर्माण भएको बरहथवा नगर अस्पतालमा नगरपालिकाले आवश्यक पूर्वाधार, उपकरण र विशेषज्ञ चिकित्सकको व्यवस्थापन गरी सेवा विस्तार गरेको हो ।
गत माघदेखि अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकको व्यवस्था भएपछि प्रसूति सेवा थप प्रभावकारी बनेको अस्पतालले जनाएको छ ।
माघयता मात्रै १ हजार २७३ जनाले प्रसूति सेवा लिएका छन् । तीमध्ये ११९ जनाको शल्यक्रिया (सिएस) मार्फत प्रसूति गराइएको अस्पतालको तथ्याङ्क छ । बाँकी महिलाले सामान्य प्रसूति सेवा लिएका छन् ।
स्थानीयस्तरमै शल्यक्रियासहितको सेवा पाएपछि विगतमा वीरगन्ज, जनकपुरलगायत ठूला सहरका अस्पताल धाउनुपर्ने बाध्यता हटेको सेवाग्राही बताउँछन् ।
बरहथवा नगरपालिका–३ हजरियाका जितेन्द्र सहनीले श्रीमतीको प्रसूति गराउन नगर अस्पताल आउँदा विगतको तुलनामा स्वास्थ्य सेवा निकै सुधार भएको अनुभव भएको बताए ।
उनका अनुसार केही वर्षअघिसम्म सामान्य स्वास्थ्य समस्या हुँदा पनि भरपर्दो उपचारका लागि बाहिर जानुपर्ने अवस्था थियो ।
‘पहिला स्थानीय स्वास्थ्य संस्था निकै अस्तव्यस्त थियो । सामान्य ज्वरो रुघाखोकीको औषधि पाउनसमेत मुस्किल हुन्थ्यो । अहिले धेरै परिवर्तन भएको छ,’ उनले भने ।
स्थानीय मनोज पण्डितले सरकारी स्वास्थ्य संस्थामा सेवा विस्तार भएपछि विपन्न परिवारलाई ठूलो राहत पुगेको बताए ।
विगतमा उपचारका लागि ऋण काढेर निजी अस्पताल जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले स्थानीय तहले स्वास्थ्य सेवामा गरेको लगानीको सकारात्मक परिणाम देखिन थालेको बताए ।
बरहथवा नगर अस्पतालमा प्रसूति सेवाको विस्तारअघि सामान्य बर्थिङ सेन्टर मात्रै सञ्चालनमा थियो ।
प्रसूति गराउन आएका महिलामा जटिलता देखिए तत्काल अन्यत्र रेफर गर्ने गरिएको थियो । त्यसका कारण विपन्न परिवारले उपचार खर्चसँगै यातायातको अतिरिक्त भारसमेत बेहोर्नुपर्थ्यो ।
बागमती नगरपालिका–८ शङ्करपुरकी सङ्गीता कुशवाहाले आर्थिक अभावका कारण कतिपय गर्भवतीले जोखिम मोलेर घरमै प्रसूति गराउनुपर्ने अवस्था रहेको बताइन् ।
स्थानीय अस्पतालमै विशेषज्ञ चिकित्सक र शल्यक्रियासहितको सेवा उपलब्ध भएपछि यस्तो जोखिम कम हुने उनको विश्वास छ ।
अस्पतालका चिकित्सकका अनुसार अझै पनि ग्रामीण तथा विपन्न समुदायमा प्रसूति अवस्थालाई सामान्य रूपमा लिने र जटिलता देखिँदासमेत समयमै अस्पताल नपुर्याउने समस्या चुनौतीका रूपमा रहेको छ ।
अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लिमुकुमारी साहले अस्पतालमा आउने सेवाग्राहीलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउने प्रयास भइरहेको बताइन् ।
उनका अनुसार शल्यक्रियासहितको प्रसूति सेवा निःशुल्क उपलब्ध हुन थालेपछि अस्पतालप्रतिको नागरिकको विश्वास बढेको छ ।
अत्यावश्यक अवस्थाबाहेक बिरामीलाई अन्यत्र रेफर नगरी अस्पतालमै उपचार गर्ने प्रयास गरिँदै आएको उनले बताइन् ।
बरहथवा नगर अस्पतालमा बरहथवासहित बागमती, बसबरिया, धनकौल, रामनगर, बलरा, गोडैता, हरिपुर र चक्रघट्टालगायत क्षेत्रबाट समेत प्रसूति सेवाका लागि बिरामी आउने गरेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सरोजरोशन दासले निःशुल्क प्रसूति सेवा, औषधोपचार तथा अन्य स्वास्थ्य सेवाका कारण सेवाग्राहीको आकर्षण बढेको बताए ।
उनका अनुसार अस्पतालमा प्रसूति सेवासँगै जनरल फिजिसियन, ओपिडी, इमर्जेन्सी तथा निःशुल्क आँखा उपचार सेवा पनि सञ्चालनमा छन् ।
मधेस प्रदेश सरकारबाट प्राप्त जनस्वास्थ्य प्रयोगशालामार्फत सहुलियत दरमा ल्याब परीक्षण सेवा उपलब्ध हुन थालेपछि पनि अस्पतालप्रति नागरिकको आकर्षण बढेको अस्पताल प्रशासनको भनाइ छ ।
सरकारले सन् २०३० सम्म घरमै हुने प्रसूति अर्थात् ‘होम डेलिभरी’लाई शून्यमा झार्ने तथा मातृ र नवजात शिशुको मृत्युदर घटाउने लक्ष्य लिएको छ ।
स्थानीयस्तरमै सुरक्षित र गुणस्तरीय प्रसूति सेवा विस्तार गर्न सकिए लक्ष्य प्राप्तिमा सहयोग पुग्ने चिकित्सकहरूको भनाइ छ ।
बरहथवा नगर अस्पतालमा शल्यक्रियासहितको प्रसूति सेवा विस्तार भएसँगै स्थानीय महिलाले लामो दूरीको यात्रा र महँगो निजी अस्पतालको भर पर्नुपर्ने अवस्था घट्दै गएको छ ।
अस्पतालले आगामी दिनमा सेवा र पूर्वाधारलाई थप व्यवस्थित गर्दै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने जनाएको छ ।

