मोनास्टिकका विद्यार्थीले गरे शिक्षामा कृत्रिम बुद्धिमत्ताको प्रभावबारे बहस

जनकपुरधाम, ३० साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मोनास्टिक स्कुल/कलेजले ‘शिक्षामा कृत्रिम बुद्धिमत्ता: अवसर वा चुनौती ?’ विषयमा विद्यार्थी केन्द्रित प्यानल छलफल आयोजना गरेको छ ।
कक्षा ७, ८ र ९ का विद्यार्थीलाई सहभागी गराइएको कार्यक्रममा प्रत्येक कक्षाबाट सात जना विद्यार्थी प्यानल सदस्य र दुई जना संयोजक गरी २१ विद्यार्थीले सहभागिता जनाएका थिए ।
तीन चरणमा सञ्चालन गरिएको प्रत्येक छलफल करिब ४० मिनेटसम्म चलेको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले शिक्षामा कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोगबाट सिर्जित अवसर तथा चुनौतीबारे आफ्ना धारणा राखेका थिए ।
उनीहरूले कृत्रिम बुद्धिमत्ताले अध्ययन, अनुसन्धान तथा सिकाइ प्रक्रियालाई सहज बनाउन सक्ने भए पनि यसको अनियन्त्रित तथा गैरजिम्मेवार प्रयोगले विद्यार्थीको सिर्जनशीलता, मौलिकता र आलोचनात्मक सोचमा असर पार्न सक्ने विषयमा समेत चर्चा गरे ।
छलफलले विद्यार्थीलाई प्रविधिको प्रयोग सुविधाका रूपमा मात्र नभई जिम्मेवारीपूर्वक र विवेकपूर्ण ढङ्गले गर्नुपर्ने सन्देश दिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यार्थीहरूले एकअर्काका विचारमाथि प्रश्न गर्दै तर्क, जिज्ञासा र आलोचनात्मक सोच प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई उनीहरूको सक्रिय सहभागिता र योगदानको कदर गर्दै प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
मोनास्टिक स्कुल/कलेजले अन्तर्राष्ट्रिय युवा दिवसलाई युवाको विचार, जिज्ञासा, सिर्जनशीलता र भविष्यप्रतिको दृष्टिकोण अभिव्यक्त गर्ने अवसरका रूपमा मनाएको जनाएको छ ।
विद्यालयका अनुसार शिक्षामा कृत्रिम बुद्धिमत्ताको भूमिका, यसको सम्भावना र चुनौतीबारे विद्यार्थीस्तरमै संवाद र बहस गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

























