जनकपुरधाम, ३० साउन । एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग नियन्त्रण गर्न जनकपुरधाममा बृहत् सचेतना अभियान सुरु गरिएको छ ।

चिकित्सक तथा स्वास्थ्य क्षेत्रका अभियन्ताहरूले एन्टिबायोटिकको अनियन्त्रित प्रयोग बढ्दै गए यसले भविष्यमा सामान्य संक्रमणको उपचारसमेत चुनौतीपूर्ण बन्न सक्ने चेतावनी दिएका छन् ।

कल्किजम रिसर्च एन्ड ट्रेनिङ सेन्टर काठमाडौंले करिब एक वर्षअघि छलफल, गोष्ठी र प्रशिक्षणमार्फत सुरु गरेको अभियानमा मधेश प्रदेश सरकार, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघसंस्थाको सहभागिता बढेसँगै अभियानलाई प्रदेशव्यापी रूपमा अघि बढाइएको हो ।

अभियानअन्तर्गत जनकपुरधाममा आयोजित कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले एन्टिबायोटिकको सही र जिम्मेवार प्रयोगबारे नागरिकमा चेतना फैलाउन सरकार, चिकित्सक, स्वास्थ्यकर्मी र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताए ।

चिकित्सकहरूका अनुसार चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्ने, चिकित्सकले तोकेको मात्रा र अवधि पूरा नगर्ने तथा आवश्यकताभन्दा बढी प्रयोग गर्ने प्रवृत्तिका कारण एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् औषधि प्रतिरोधी क्षमता बढ्दै गएको छ ।

यस्तो अवस्था निरन्तर रहे भविष्यमा सामान्य संक्रमणका लागि प्रयोग हुने औषधिसमेत प्रभावहीन हुन सक्ने उनीहरूको भनाइ छ ।

‘रोज कुरा गर्नु, डाक्टरले भनेको डोज पूरा गर्नु’ भन्ने नाराका साथ अघि बढाइएको अभियानमा मधेश प्रदेशका चिकित्सक, मेडिकल कलेजका विद्यार्थी, स्वास्थ्यकर्मी, प्रदेश सरकारका मन्त्री, स्वास्थ्य अभियन्ता तथा विभिन्न क्षेत्रका अगुवाहरू सहभागी भएका छन् ।

अभियानमार्फत चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्न, चिकित्सकले तोकेको मात्रा र अवधि पूरा गर्न तथा अनावश्यक रूपमा एन्टिबायोटिक सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

स्वास्थ्य विज्ञहरूले एन्टिबायोटिकलाई सामान्य औषधिका रूपमा प्रयोग गर्ने प्रवृत्ति रोक्न सके मात्र यसको प्रभावकारिता दीर्घकालसम्म कायम राख्न सकिने भन्दै औषधिको प्रयोगमा नागरिकस्तरबाटै जिम्मेवारी अपनाउनुपर्नेमा जोड दिएका छन् ।