बोलबम तीर्थयात्री सवार बस दुर्घटनामा रौतहटका तीन जनाको मृत्यु

रौतहट, २९ साउन । भारतको झारखण्डस्थित बाबाधाममा बोलबम यात्राका लागि गएका रौतहटका तीर्थयात्री सवार बस दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा गरुडा नगरपालिका–६ पोठियाहीका ६० वर्षीय नवल किशोर जयसवाल, उनकी श्रीमती सुन्दर बाला देवी र १० वर्षीय शिवम महतो रहेका छन् ।
पोठियाहीबाट गत आइतबार बोलबम यात्राका लागि भारत गएको ना ६ ख १५५४ नम्बरको बस शुक्रबार बिहान करिब ३ बजे झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किएको हो ।
प्रारम्भिक जानकारीअनुसार बसमा करिब ४५ जना तीर्थयात्री सवार थिए । बासुकीनाथको दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा बस दुर्घटनामा परेको बताइएको छ ।
ट्रकसँग ठोक्किएपछि बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
दुर्घटनालगत्तै सतगावाँ प्रहरीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सतगावाँ थाना प्रमुख बब्लु सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा बस चालकलाई अत्यधिक निद्रा लागेको हुनसक्ने देखिएको छ । यद्यपि, दुर्घटनाको यकिन कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर पाएपछि मृतक तथा घाइतेका आफन्तहरू शुक्रबार बिहानै चारवटा सवारीसाधन रिजर्भ गरी घटनास्थलतर्फ गएका छन् ।
दुर्घटनामा घाइते हुने अधिकांश तीर्थयात्री पनि पोठियाहीकै रहेको बताइएको छ ।
घटनाको खबरसँगै पोठियाही गाउँ शोकमा डुबेको छ । आफन्तहरू घाइतेको अवस्था बुझ्न तथा मृतकको शव नेपाल ल्याउने प्रक्रिया अघि बढाउन भारततर्फ गएका छन् ।
दुर्घटनामा कति जना घाइते भएका छन् र उनीहरूको अवस्था कस्तो छ भन्नेबारे विस्तृत विवरण भने अझै सार्वजनिक भएको छैन ।
स्थानीयले मृतक नेपाली नागरिकको शव यथाशीघ्र नेपाल ल्याउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

