जनकपुरधाम, २९ साउन । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा विभिन्न पदका लागि ६ जना विशेषज्ञ जनशक्ति माग गर्दै दरखास्त आह्वान गरेको छ ।

प्रतिष्ठानले साउन २९ गते प्रकाशित गरेको सूचनामार्फत सिटिभिएस, प्याथोलोजी, एनेस्थेसिया र मेडिकल सर्जिकल नर्सिङ विभागका लागि जनशक्ति माग गरेको हो ।

रिक्त पदमा आवश्यकता पूर्ति गर्न प्राध्यापकदेखि लेक्चररसम्मका पदमा नियुक्तिका लागि आवेदन खुलाइएको प्रतिष्ठानले जनाएको छ ।

सूचनाअनुसार सिटिभिएस विभागमा एक जना, प्याथोलोजिस्ट दुई जना, एनेस्थेसियामा दुई जना र मेडिकल सर्जिकल नर्सिङमा एक जना गरी कुल ६ जना जनशक्ति माग गरिएको छ ।

उम्मेदवारको योग्यता तथा अनुभवका आधारमा प्रोफेसर, एसोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर वा लेक्चरर पदमा नियुक्ति गरिनेछ ।

चिकित्सकतर्फ सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित परिषद्मा विशेषज्ञका रूपमा दर्ता भएको हुनुपर्नेछ ।

नर्सिङतर्फ भने सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।

प्रोफेसर र एसोसिएट प्रोफेसर पदका लागि ७० वर्ष ननाघेको तथा असिस्टेन्ट प्रोफेसर र लेक्चरर पदका लागि ४५ वर्ष ननाघेको हुनुपर्ने उमेर हद तोकिएको छ ।

प्रतिष्ठानका अनुसार प्रोफेसर तथा एसोसिएट प्रोफेसर पदका लागि परीक्षा दस्तुर १ हजार ५ सय रुपैयाँ र असिस्टेन्ट प्रोफेसर तथा लेक्चरर पदका लागि १ हजार २ सय रुपैयाँ तोकिएको छ ।

दस्तुर भानु चोकस्थित लक्ष्मी सनराइज बैंकमा रहेको प्रतिष्ठानको खातामा जम्मा गरी सोको भौचर दरखास्तसँगै पेस गर्नुपर्नेछ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् भदौ १२ गतेसम्म आवेदन दिन सक्ने प्रतिष्ठानले जनाएको छ ।