राराब क्याम्पसमा अब एलएलबी पढाइ हुने

जनकपुरधाम, २७ साउन । जनकपुरधामस्थित ऐतिहासिक रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसमा पहिलोपटक कानून विषयको स्नातक तह एलएलबी कार्यक्रम सञ्चालनमा आएको छ ।
क्याम्पसमा नयाँ सुरु गरिएको कानून कार्यक्रमअन्तर्गत भर्ना भएका विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरिएको हो ।
क्याम्पस प्रमुख प्रा. डा. बसन्त कुमार कर्णको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा न्यायाधीश, वरिष्ठ अधिवक्ता, मुख्य न्यायाधिवक्ता, सरकारी वकिल, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको सहभागिता थियो ।
कार्यक्रममा एलएलबी कार्यक्रम संयोजक रिङ्कु कुमारी यादवले कानून शिक्षाको पाठ्यक्रम, विषयगत संरचना, अध्ययन तथा परीक्षा प्रणाली र विद्यार्थीले पूरा गर्नुपर्ने शैक्षिक दायित्वबारे जानकारी गराएकी थिइन् ।
क्याम्पसमा पहिलोपटक कानून कार्यक्रम सुरु भएकाले नयाँ विद्यार्थीलाई अध्ययन पद्धति र पाठ्यक्रमबारे गरिएको अभिमुखीकरण उपयोगी भएको बताइएको छ ।
प्रमुख अतिथि कायममुकायम मुख्य न्यायाधीश कुँवरले कानून शिक्षालाई परीक्षा उत्तीर्ण गर्ने माध्यमका रूपमा मात्र नलिई न्याय, संविधान र कानूनी शासनको गहिरो अध्ययनका रूपमा अघि बढाउन विद्यार्थीलाई आग्रह गरे ।
कानून शिक्षाले न्यायपालिका, सरकारी सेवा, कानून व्यवसायलगायत विभिन्न क्षेत्रमा दक्ष र जिम्मेवार जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता युगलकिशोर लालसहित कानून क्षेत्रका अनुभवी व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो ।
उनीहरूले विद्यार्थीलाई अध्ययनशील बन्न, कानूनी तर्क तथा अनुसन्धान क्षमता विकास गर्न र कानून व्यवसायमा आवश्यक व्यावसायिक आचरणलाई प्राथमिकता दिन सुझाव दिएका थिए ।
त्यस्तै, मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता डा. सुनिल रञ्जन सिंहले रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा कानून शिक्षा सुरु हुनु मधेश प्रदेशकै लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।
उनले यस कार्यक्रमले प्रदेशमा आवश्यक दक्ष कानूनी जनशक्ति उत्पादनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
उच्च सरकारी वकिलको कार्यालयका प्रमुखले पनि कार्यक्रममा कानून शिक्षाको महत्व, व्यावहारिक ज्ञान तथा कानून अध्ययनपछि विद्यार्थीका लागि उपलब्ध हुन सक्ने विभिन्न पेशागत अवसरबारे धारणा राखेका थिए ।
क्याम्पसका विद्यार्थी कल्याण प्रमुख डा. रामसेवक ठाकुरले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्दै नवप्रवेशी विद्यार्थीलाई सफल शैक्षिक यात्राको शुभकामना दिए ।
कार्यक्रमको सञ्चालन तथा सहजीकरण अनुसन्धान तथा व्यवस्थापन इकाईका निर्देशक अनुप अधिकारीले गरे ।
अध्यक्षता गरेका क्याम्पस प्रमुख प्रा. डा. कर्णले क्याम्पस प्रशासन गुणस्तरीय कानून शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।
कानून कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक शैक्षिक वातावरण निर्माण गरिने उल्लेख गर्दै उनले विद्यार्थीलाई नियमित, अनुशासित, अध्ययनशील र जिम्मेवार बन्न आग्रह गरे ।
रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा पहिलोपटक सुरु भएको एलएलबी कार्यक्रमले जनकपुरधामसहित मधेश प्रदेशमा कानून शिक्षाको पहुँच विस्तार गर्नुका साथै प्रदेशमै दक्ष कानूनी जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

