अत्यधिक गर्मीका कारण सिरहाका विद्यालय बिहानै सञ्चालन हुने

सिरहा, २७ साउन । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि सिरहा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा बिहानको समयमा मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बुधबार सूचना जारी गर्दै साउन २८ गतेदेखि भदौ ८ गते सोमबारसम्म बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र कक्षा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो ।
नगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा यो व्यवस्था लागू हुने शिक्षा अधिकृत वीरेन्द्रकुमार यादवद्वारा जारी सूचनामा उल्लेख छ ।
अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने क्रम बढ्दै गएको भन्दै नगरपालिकाले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखेर विद्यालयको समय परिवर्तन गर्ने निर्णय गरेको जनाएको छ ।
नगरपालिकाले भदौ ९ गते मंगलबारदेखि भने पूर्वनिर्धारित समयअनुसार नियमित रूपमा कक्षा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ ।
गर्मीका कारण विशेषगरी दिउँसोको समयमा विद्यार्थीलाई विद्यालय आवतजावत तथा कक्षाकोठामा बस्न समस्या भइरहेका बेला नगरपालिकाले अस्थायी रूपमा बिहानको समय निर्धारण गरेको हो ।


