जनकपुरधाम, २५ साउन । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा प्रदेशस्तरीय क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण हुने भएको छ ।

ट्रमा सेन्टर अन्यत्र सार्ने चर्चा चलिरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ढल्केवरमै सेन्टर निर्माण गर्ने स्पष्ट पारेको हो ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पूर्वपश्चिम राजमार्गमा हुने दुर्घटनामा गम्भीर घाइते हुनेहरूको तत्काल उपचारका लागि ढल्केवरमा प्रदेशस्तरीय ट्रमा सेन्टर स्थापना गर्ने सरकारको योजना छ ।

ट्रमा सेन्टर ढल्केवरबाट अन्यत्र सार्न लागिएको हल्ला चलेपछि पछिल्ला केही दिनदेखि स्थानीयवासी तथा विभिन्न पक्षले ढल्केवरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै विरोध प्रदर्शनसमेत गर्दै आएका थिए ।

उनीहरूले सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै ढल्केवरमै अत्याधुनिक ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग राख्दै आएका छन् ।

मन्त्रालयले भने ढल्केवरमा प्रदेशस्तरीय ट्रमा सेन्टर र सिरहाको लहानमा पाँच शय्याको ट्रमा युनिट स्थापना गर्ने योजना रहेको जनाएको छ ।

यससँगै ढल्केवरको ट्रमा सेन्टर अन्यत्र सारिने आशंकासमेत अन्त्य भएको मन्त्रालयको भनाइ छ ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा गरेको थियो ।

लामो समयदेखि चर्चामा रहेको उक्त योजना कार्यान्वयनका लागि वर्तमान सरकारले गत जेठमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि आवश्यक जग्गा प्राप्ति गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको महत्वपूर्ण केन्द्रका रूपमा रहेको ढल्केवरमा दैनिक ठूलो संख्यामा सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

राजमार्गमा हुने दुर्घटनाका कारण गम्भीर घाइतेलाई तत्काल उपचार नपाउँदा ज्यान जाने जोखिमसमेत रहने भएकाले ढल्केवरमा ट्रमा सेन्टर स्थापना आवश्यक रहेको बताइएको छ ।

ट्रमा सेन्टर सञ्चालनमा आएपछि धनुषासहित महोत्तरी, सिरहा, सर्लाहीलगायत राजमार्ग आसपासका जिल्लाका दुर्घटनाका गम्भीर घाइतेले समेत तत्काल विशेषज्ञ उपचार पाउने विश्वास गरिएको छ ।

सरकारले आवश्यक प्रक्रिया अघि बढाउँदै निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने जनाएको छ ।