जनकपुरधाम, २३ साउन । मधेश प्रदेशमा भएको दङ्गाका कारण स्थगित त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको परीक्षा पुनः सञ्चालन हुने भएको छ ।

त्रिवि डीनको कार्यालयले जारी गरेको जरुरी सूचनाअनुसार गत साउन १५ गतेका लागि तोकिएको मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) कार्यक्रमअन्तर्गत बजार व्यवस्थापन (Marketing Management) विषयको स्थगित परीक्षा आगामी भदौ १५ गते बिहान ११ः३० बजे सञ्चालन हुनेछ ।

यसअघि मधेशका विभिन्न जिल्लामा उत्पन्न भएको दङ्गाजन्य परिस्थितिका कारण तोकिएका केही परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसकेपछि स्थगित गरिएको थियो ।

अब उक्त परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रमै सञ्चालन गर्ने निर्णय गरिएको डीनको कार्यालयले जनाएको छ ।

परीक्षाका लागि मधेश प्रदेशमा ११ वटा परीक्षा केन्द्र तोकिएका छन् । धनुषाको जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, सर्लाहीका सर्लाही क्याम्पस मलंगवा र जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा परीक्षा सञ्चालन हुनेछ ।

त्यस्तै, सिरहामा सूर्यनारायण सत्यनारायण मोरबैता यादव क्याम्पस र जे.एस. मुरारका बहुमुखी क्याम्पस लहान, सप्तरीमा महेन्द्रविन्देश्वरी बहुमुखी क्याम्पस राजविराज र नेसनल पिपुल कलेज कञ्चनपुरलाई परीक्षा केन्द्र तोकिएको छ ।

रौतहटमा जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर र गौरीशङ्कर यादव रौतहट क्याम्पस गौर, बारामा सिमरा कलेज तथा पर्सामा ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा परीक्षा सञ्चालन हुने त्रिविले जनाएको छ ।

डीनको कार्यालयले सम्बन्धित सबै परीक्षार्थीलाई निर्धारित मिति र समयमा आफूलाई तोकिएको परीक्षा केन्द्रमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ ।