जनकपुरधाम, २२ साउन । जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा समितिले संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट तोकिएको सीमाभन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ ।

छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट विभिन्न शीर्षकमा निर्धारित सीमाभन्दा बढी शुल्क असुल भइरहेको गुनासो आएपछि शिक्षा समितिले विशेष बैठक गरी शुल्कको अधिकतम सीमा निर्धारण गरेको हो ।

शिक्षा समितिको निर्णयअनुसार कक्षा १ देखि ५ सम्म छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट अधिकतम ७ हजार रुपैयाँ, कक्षा ६ देखि ८ सम्म ९ हजार रुपैयाँ र कक्षा ९ देखि १० सम्म १० हजार रुपैयाँसम्म मात्र शुल्क लिन पाइनेछ ।

निर्धारित सीमाभन्दा बढी शुल्क लिन नपाइने समितिले स्पष्ट पारेको छ । यदि कुनै विद्यालयले यसअघि नै तोकिएको सीमाभन्दा बढी शुल्क असुल गरिसकेको भए अतिरिक्त रकम सम्बन्धित विद्यार्थीलाई अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने निर्णयसमेत गरिएको छ ।

शिक्षा समितिले आफ्नो निर्णय कार्यान्वयन नगर्ने संस्थागत विद्यालयविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनी दिएको छ ।

विद्यालयहरूले छात्रवृत्तिका नाममा विद्यार्थी तथा अभिभावकमाथि अतिरिक्त आर्थिक भार नथोपर्नसमेत समितिले आग्रह गरेको छ ।

शिक्षा समितिका सदस्य तथा एनप्याब्सन जनकपुरधामका अध्यक्ष दीपक ठाकुरले छात्रवृत्ति पाउने विद्यार्थीको अधिकार सुनिश्चित गर्न विद्यालयहरूले उपमहानगरपालिकाको निर्णय पालना गर्नुपर्ने बताए ।

उनका अनुसार छात्रवृत्ति कार्यक्रमको उद्देश्य आर्थिक रूपमा कमजोर तथा योग्य विद्यार्थीलाई शिक्षाको पहुँचमा ल्याउनु भएकाले त्यसका नाममा थप शुल्क असुल गर्नु उचित हुँदैन ।

उपमहानगरपालिकाले छात्रवृत्ति वितरण तथा शुल्क असुली प्रक्रियामा पारदर्शिता कायम गर्न र विद्यार्थीको अधिकार सुनिश्चित गर्न विद्यालयहरूलाई आग्रह गरेको छ ।

समितिले तोकेको शुल्क सीमाभन्दा बढी रकम असुल गरिएको पाइएमा सम्बन्धित विद्यालयलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ ।