पर्सा, २१ साउन । पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकमा ग्यास ट्याङ्करले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बुधबार राति करिब ८ बजे पावरहाउसबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई पछाडिबाट आइरहेको आरजे १४ जीई ८७१० नम्बरको ग्यास ट्याङ्करले ठक्कर दिएको थियो । ठक्करपछि ट्याङ्कर घटनास्थलबाट फरार भएको थियो ।

दुर्घटनामा घाइते भएका सबै ९ जनाको उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ भने तीन जनाको अवस्था मध्यम रहेको छ ।

घटनापछि फरार ट्याङ्कर र चालकलाई प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने चालक भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्ला साहेबगञ्ज निवासी करिब ४८ वर्षीय धनेश्वर राय रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालकको स्वास्थ्य परीक्षण गर्दा उनले मादक पदार्थ सेवन गरेको पुष्टि भएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।