मानवीय सेवाको केन्द्र नै बेवारिसे: रेडक्रस केन्द्रमा एम्बुलेन्स र रक्तसञ्चार बस कवाडी बन्दै

जनकपुरधाम, २० साउन । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित नेपाल रेडक्रस सोसाइटीको सामुदायिक विकास केन्द्र वर्षौंदेखि निष्क्रिय बन्दा मानवीय सेवाका लागि निर्माण गरिएको संरचना र साधनहरू प्रयोगविहीन अवस्थामा पुगेका छन् ।
कुनै समय विपद् व्यवस्थापन, राहत वितरण, एम्बुलेन्स सेवा र स्वास्थ्यसम्बन्धी तालिम सञ्चालन हुने केन्द्र अहिले सुनसान बनेको छ ।
केन्द्र परिसरमा रहेका चारवटा एम्बुलेन्स र रक्त संकलनका लागि ल्याइएको विशेष बस लामो समयदेखि खुला आकाशमुनि थन्किँदा जीर्ण बन्दै गएका छन् ।
भवनका अधिकांश कोठामा ताल्चा लागेको छ भने नियमित सेवा सञ्चालन नहुँदा स्थानीयवासीले केन्द्रबाट कुनै लाभ लिन सकेका छैनन् ।
स्थानीय धिरजकुमार महतोले रेडक्रसको बोर्ड देखेर आकस्मिक अवस्थामा रगत खोज्दै आउने सेवाग्राहीहरू निराश भएर फर्किनुपर्ने अवस्था रहेको बताए ।
उनका अनुसार केन्द्रमा नर्सरीबाहेक अन्य प्रभावकारी सेवा सञ्चालन नभएकाले भवनलाई आँखा अस्पताल वा अन्य स्वास्थ्य सेवाका लागि उपयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।

‘यहाँ रेडक्रसको बोर्ड देखेर मानिसहरू रगतका लागि आउँछन् । तर, सेवा उपलब्ध छैन । हामीले उनीहरूलाई जनकपुरधाम वा बर्दिबास जान सल्लाह दिनुपर्ने अवस्था छ,’ उनले भने ।
लालगढ उपशाखाकी पूर्वउपसभापति गोमा लामाले विगतमा केन्द्रमा विभिन्न गतिविधि सञ्चालन हुने गरे पनि अहिले सबै सेवा बन्द रहेको बताइन् ।
संस्थाभित्रको कमजोर व्यवस्थापन र नेतृत्वका कारण केन्द्र निष्क्रिय बनेको उनको भनाइ छ ।
केन्द्रमा रेखदेखको जिम्मेवारी सम्हालिरहेकी कर्मचारी जीवनदेवी कोइरालाले पनि निर्वाचनबाहेक अन्य समयमा कुनै औपचारिक कार्यक्रम वा स्वास्थ्य सेवा सञ्चालन नभएको स्वीकार गरिन् ।
स्थानीयले विपद्का बेला वितरणका लागि ल्याइएका राहत सामग्रीसमेत दुरुपयोग भएको आरोप लगाएका छन् ।
उनीहरूका अनुसार पीडितका लागि आएको चामल, दाल, तेललगायतका सामग्री समयमै वितरण नगरी गोदाममै कुहाइयो र पछि खाडल खनेर गाडिएको थियो । यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उनीहरूको माग छ ।
जिल्ला कार्यसमितिको कार्यसम्पादनमाथि प्रश्न उठेपछि नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयले धनुषा जिल्ला कार्यसमिति भंग गरी पंकज महतोको नेतृत्वमा तदर्थ समिति गठन गरेको छ ।
पदभार ग्रहण गरेलगत्तै बडहरी केन्द्रको निरीक्षण गरेका तदर्थ समितिका सभापति महतोले केन्द्रको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विगतका बेथितिको छानबिन गरिने बताएका छन् ।
उनले राहत सामग्रीको दुरुपयोग भएको आरोपबारे अनुसन्धान गरिने तथा लामो समयदेखि थन्किएका एम्बुलेन्स र रक्तसञ्चार बस मर्मत गरेर पुनः सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाए ।
‘करोडौँ रुपैयाँको संरचना र महँगा एम्बुलेन्सहरू यसरी अलपत्र अवस्थामा देख्दा दुःख लागेको छ । रेडक्रस कसैको व्यक्तिगत सम्पत्ति होइन,’ उनले भने ।

विगतमा भएका अनियमितताको अनुसन्धान गरी दोषीमाथि आवश्यक कारबाही गरिने उनको दाबी छ ।
मानवीय सेवाका लागि स्थापना गरिएको बडहरीस्थित रेडक्रस केन्द्र अहिले भौतिक संरचनामा मात्र सीमित बनेको छ ।
नयाँ नेतृत्वले सेवा पुनः सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि स्थानीयवासीले केन्द्रलाई पुनर्जीवन मिल्ने विश्वास गरेका छन् ।

