भन्सार छलीका २३ लाख ३० हजार बराबरका सामानसहित ईभी भ्यान नियन्त्रणमा, एक पक्राउ

जनकपुरधाम, १९ साउन । धनुषा प्रहरीले करिब २३ लाख ३० हजार बराबरका भन्सार छलीका सामान तथा ती सामान ओसारपसारमा प्रयोग गरिएको ईभी (इलेक्ट्रिक) भ्यान सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार जारी गरेको जानकारीअनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा भन्सार छली गरी ल्याइएका विभिन्न सामान र ती सामान बोकेको ईभी भ्यान बरामद गरिएको हो ।
प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
बरामद सामान र सवारीसाधनको अनुमानित मूल्य २३ लाख ३० हजार रहेको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

