सुनसरी, १९ साउन । समुदायस्तरमै संक्रामक तथा अन्य जनस्वास्थ्यसम्बन्धी जोखिमको समयमै पहिचान र सूचना प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले इटहरी उपमहानगरपालिकाले समुदायमा आधारित रोग निगरानी प्रणाली (Community-Based Disease Surveillance) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा समुदायमा देखिन सक्ने संक्रामक रोग, स्वास्थ्य आपत्कालीन अवस्था तथा अन्य असामान्य जनस्वास्थ्य घटनाको प्रारम्भिक पहिचान गरी सम्बन्धित निकायसम्म छिटो सूचना पुर्‍याउने प्रणालीबारे जानकारी दिइएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

समयमै सूचना प्रवाह हुन सके रोग नियन्त्रण, रोकथाम तथा महामारी व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

अभिमुखीकरणका क्रममा सहभागीहरूलाई रोगका प्रारम्भिक लक्षण चिन्ने तरिका, समुदायमा असामान्य स्वास्थ्य घटना देखिएमा सूचना संकलन र सम्बन्धित स्वास्थ्य संस्थामा जानकारी गराउने प्रक्रिया तथा जनचेतना अभिवृद्धिका उपायबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा अनपेक्षित जनस्वास्थ्यसम्बन्धी घटना वा रोगको शंका देखिएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित निःशुल्क ‘हेल्लो स्वास्थ्य १११५’ हटलाइनमा तत्काल जानकारी गराउन पनि आग्रह गरिएको थियो । यसबाट सम्बन्धित निकायले छिटो अनुसन्धान, निगरानी र आवश्यक नियन्त्रणका उपाय अवलम्बन गर्न सहज हुने जनाइएको छ ।

स्वास्थ्य महाशाखाका अनुसार समुदायमा आधारित रोग निगरानी प्रणालीले स्थानीय तहबाटै रोगको प्रारम्भिक सूचना संकलन गर्न मद्दत गर्ने भएकाले महामारीको जोखिम न्यूनीकरण, रोग नियन्त्रण तथा जनस्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाल सरकार, द प्यान्डेमिक फन्ड, युनिसेफ (UNICEF) र पीएचआरडी नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

इटहरी उपमहानगरपालिकाले आगामी दिनमा पनि यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिँदै समुदायस्तरमै रोगको प्रारम्भिक पहिचान, प्रभावकारी सूचना व्यवस्थापन र जनस्वास्थ्य सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।