महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते
महोत्तरी, १९ साउन । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा मङ्गलबार बिहान विद्यालय बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बिहान करिब ७ः३० बजे मोर्डन शारदा शिक्षा सदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट उखुबारीमा पल्टिएको हो ।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ का ४० वर्षीय विजय भुजेलसहित गौशाला–११ का १० वर्षीय प्रतीक कुशवाहा, ८ वर्षीय प्रज्ज्वल कुशवाहा, १३ वर्षीया प्रिती कुशवाहा, गौशाला–९ का १३ वर्षीय उमर शेख र गौशाला–११ का ६ वर्षीय आदर्श कुशवाहा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार घाइतेमध्ये अधिकांशको खुट्टा, नाक र कम्मरमा चोट लागेको छ ।
चालक विजय भुजेल र उमर शेखलाई थप उपचारका लागि बीके अस्पताल, गौशाला पठाइएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
दुर्घटनापछि प्रहरी चौकी कान्तिबजारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले तत्काल उद्धार गरी सबै घाइतेलाई उपचारका लागि अस्पताल पुर्याएका थिए ।
प्रहरीले प्रारम्भिक रूपमा बस अनियन्त्रित भएर दुर्घटना भएको जनाएको छ ।


