सर्लाही, १८ साउन । सर्लाहीको हरिवन नगरपालिका–४ स्थित गणेश चोकमा सोमबार बिहान ट्रकको ठक्करबाट एक साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिपुर नगरपालिका–५, लक्ष्मीपुर निवासी ५० वर्षीय पञ्चलाल चौधरी रहेका छन् ।

उनी मजदुरीका लागि सासापुरस्थित गेला गाउँतर्फ साइकलमा जाँदै गरेका बेला बिहान करिब ७ बजे दुर्घटनामा परेका हुन् ।

प्रहरीका अनुसार मधेश प्रदेश–०३–००२ ख ११९४ नम्बरको ट्रकले सडक पार गर्ने क्रममा चौधरीलाई ठक्कर दिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार रोकिएको बसको अगाडिबाट सडक पार गर्न खोजिरहेका बेला पछाडिबाट आइरहेको ट्रकले उनलाई किचेको हो ।

दुर्घटनापछि चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै फरार भएका ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले बागमतीबाट नियन्त्रणमा लिएको छ ।

चालक र ट्रकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।