सप्तरी, १८ साउन । काठमाडौंको मीनभवनस्थित सिभिल अस्पताल अगाडिको सडकमा भएको मोटरसाइकल दुर्घटनामा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी घाइते भएका छन् ।

गाउँपालिकाको कामका सिलसिलामा काठमाडौं गएका अध्यक्ष चौधरी राइड सेयरिङ सेवा ‘याङ्गो’ मार्फत बल्खुतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

उनी सवार रहेको बागमती प्रदेश ०२–०६४ प ८६०१ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा बा ७० प ४५६ नम्बरको अर्को मोटरसाइकलसँग ठोक्किएको बताइएको छ ।

दुर्घटनामा अर्को मोटरसाइकल चालक अर्घाखाँची घर भई हाल कलंकी बस्ने गणेश अर्याल पनि घाइते भएका छन् ।

अध्यक्ष चौधरीको खुट्टामा गम्भीर चोट लागेको छ भने उपचारपछि उनी डिस्चार्ज भएर काठमाडौंमै आराम गरिरहेका छन् ।

अर्याललाई सामान्य चोट लागेको र उनको मोटरसाइकलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि याङ्गो मोटरसाइकल चालक दैलेख घर भई तारकेश्वर बस्दै आएका भोजेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो ।

प्रहरी वृत्त बानेश्वरमा भएको छलफलपछि घाइतेहरूको उपचार खर्च व्यहोर्ने, क्षतिग्रस्त मोटरसाइकल मर्मत गरिदिने तथा सहमतिविपरीत व्यवहार गरे कानुनी कारबाही स्वीकार गर्ने सर्तमा दुवै पक्षबीच मिलापत्र भएको छ ।

अध्यक्ष चौधरीले तीव्र गतिमा मोटरसाइकल चलाइएकै कारण दुर्घटना भएको दाबी गर्दै राइड सेयरिङ सेवामा सवारी सुरक्षा र चालकको गति नियन्त्रणमा सम्बन्धित निकायले थप कडाइ गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले दुर्घटनाअघि सिंहदरबारमा विभिन्न मन्त्रीहरूसँग भेटेर छिन्नमस्ता गाउँपालिकाका विकास तथा जनसरोकारका विषयमा पहल गरेको जानकारी दिँदै बाँकी रहेका भेटघाट दुर्घटनाका कारण प्रभावित भएको बताए ।