पेसएक्स प्रिमियर लिग फुटसलको पहिलो उपाधि मेन्टेन एफसीलाई

काठमाडौं, १७ साउन । पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न पहिलो संस्करणको ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुला फुटसल प्रतियोगिता’ को उपाधि मेन्टेन एफसीले जितेको छ ।
बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनलमा मेन्टेन एफसीले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो ।
निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टीमार्फत लगाइएको थियो ।
खेलको दोस्रो मिनेटमै सन्दीप कार्कीको गोलबाट होराकले अग्रता लिए पनि मेन्टेनका रविन चौलागाईंले केहीबेरमै बराबरी गोल फर्काए ।
त्यसपछि पहिलो हाफको नवौँ मिनेटमा सैलेन्द्र मगरले गोल गर्दै होराकलाई २–१ को अग्रता दिलाए ।
दोस्रो हाफको अन्तिमतिर होराकले अर्को गोल गर्दै ३–१ को सहज अवस्थामा पुगेको थियो । तर, खेल सकिन केही क्षण बाँकी रहँदा मेन्टेनका योगेश श्रेष्ठले लगातार दुई गोल गर्दै टोलीलाई ३–३ को बराबरीमा फर्काए र खेल पेनाल्टी सुटआउटमा धकेले ।
पेनाल्टीमा मेन्टेन एफसीले उत्कृष्ट प्रदर्शन गर्दै ४–३ को जित निकाल्यो र प्रतियोगिताको पहिलो संस्करणको च्याम्पियन बन्न सफल भयो ।
साउन १५ देखि १७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा देशभरका ३२ टोलीको सहभागिता रहेको थियो ।
क्वार्टरफाइनलमा मेन्टेनले नोबेल फुटबल एकेडेमीलाई २–० तथा होराकले डाइनामिक एफसीलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए ।
अन्य क्वार्टरफाइनलमा ठमेल ११ ले एभरेस्ट एफसीलाई ३–१ तथा रोयल नेपालले करुणा एफसीलाई ४–० ले पराजित गरेका थिए ।
सेमिफाइनलमा होराक एफसीले ठमेल ११ लाई ३–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने मेन्टेन एफसीले रोयल नेपालसँग १–१ को बराबरीपछि पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै उपाधि भिडन्तमा स्थान बनाएको थियो ।
तेस्रो स्थानका लागि भएको खेलमा ठमेल ११ ले रोयल नेपाललाई २–१ ले हराउँदै तेस्रो स्थान सुरक्षित गर्यो ।
उपाधिसँगै मेन्टेन एफसीले नगद रु. १ लाख ११ हजार १११, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
उपविजेता होराक एफसीले रु. ५१ हजार १११ तथा तेस्रो बनेको ठमेल ११ ले रु. २१ हजार १११ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र हात पारे ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी तथा सर्वोत्कृष्ट टोलीलाई पनि विशेष पुरस्कार प्रदान गरिएको आयोजक पेसएक्स स्पोर्ट्सले जनाएको छ ।
संस्थाले आगामी दिनमा फुटसलसँगै अन्य खेलकुद प्रतियोगितासमेत नियमित रूपमा आयोजना गर्दै नेपाली खेलकुदको विकासमा योगदान पुर्याउने लक्ष्य रहेको जनाएको छ ।



















