जनकपुरधाम, २७ असार । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्वपश्चिम लोकमार्गमा शनिबार बिहान धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार सरकारी गाडी र बिरामी बोकेको एम्बुलेन्स एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बिहान करिब ६:२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी ठोक्किएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार पाँच जना तथा सरकारी गाडीमा सवार तीन जना गरी आठ जना घाइते भएका छन् ।

घाइतेमध्ये उपमेयर विद्दा भुजेल, सरकारी गाडी चालक बद्री भुजेल र भीमराज भुजेल पनि रहेका छन् ।

अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने एम्बुलेन्समा सवार रेणु कुमारी महतोको अवस्था मध्यम रहेको बताइएको छ ।

घाइते सबैलाई उपचारका लागि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार एम्बुलेन्समा पक्षघात (प्यारालाइसिस) की बिरामी राजु देवीलाई उपचारका लागि विराटनगर लैजाँदै गर्दा दुर्घटना भएको हो ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।