धनुषामा यात्रुवाहक बस दुर्घटना, चालकसहित तीन जना घाइते

जनकपुरधाम, २३ असार । धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीस्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सोमबार राति करिब १ बजे काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८४३ नम्बरको बस अनियन्त्रित भई सडकछेउ पल्टिँदा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनामा बसमा सवार १४ जनामध्ये तीन जना घाइते भएका छन् । घाइते हुनेमा बस चालक झापाको मेचीनगर नगरपालिका–७ का ३५ वर्षीय सन्तुलाल चौधरी रहेका छन् ।
चौधरीको शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनको जनकपुरधामस्थित साई ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
त्यस्तै, दुर्घटनामा भारत निवासी ४० वर्षीय सन्दीप पाठक र उनकी श्रीमती ३५ वर्षीया सुनिता क्षेत्री पनि घाइते भएका छन् । उनीहरूको धनुषाको वीरेन्द्रबजारस्थित कमलामाई अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि सकुशल रहेका ११ जना यात्रुलाई अर्को बसको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
बस दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पछिल्लो समय पूर्वपश्चिम लोकमार्गमा तीव्र गति, चालकको लापरबाही तथा सडक अवस्थाका कारण सवारी दुर्घटना बढ्दै गएको देखिएको छ ।

