जनकपुरधाम, १९ असार । लायन्स क्लब अफ जनकपुरधामले आफ्नो स्वर्ण जयन्ती वर्षलाई सामाजिक उत्तरदायित्वमूलक गतिविधिमार्फत मनाउने क्रममा जनकपुरधामस्थित जानकी आँखा अस्पताल मा अत्याधुनिक ‘एयर ग्रेडियन्ट’ (AirGradient) उपकरण जडान गरी हस्तान्तरण गरेको छ ।

’50 Golden Years of Service to Humanity’ भन्ने मूल नारालाई आत्मसात् गर्दै क्लबले स्वास्थ्य तथा वातावरणीय सचेतनालाई लक्षित गर्दै उक्त उपकरण हस्तान्तरण गरेको हो ।

शुक्रबार आयोजित कार्यक्रममा अस्पताल परिसरमा जडान गरिएको उपकरणले करिब ५०० मिटर क्षेत्रभित्रको हावाको गुणस्तर (Air Quality), तापक्रम, आर्द्रता तथा वातावरणीय अवस्थाबारे वास्तविक समयमै जानकारी उपलब्ध गराउनेछ ।

यसबाट अस्पतालमा सेवा लिन आउने बिरामी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई वातावरणीय अवस्थाबारे सहज जानकारी प्राप्त हुने विश्वास लिइएको छ ।

कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधामका अध्यक्ष प्रसुन मिश्र, लायन्स क्लब अफ जनकपुरधाम गार्गीकी निवर्तमान अध्यक्ष सुजाता कुमारी साह, जोन चेयरपर्सन ऋषिकेश साह, पूर्व अध्यक्षहरू, लियो क्लब अफ जनकपुरधामका अध्यक्ष प्रविन महतो तथा लायन्स क्लब अफ जनकपुरधाम गार्गीका सदस्यहरूको उपस्थिति रहेको थियो ।

वक्ताहरूले लायन्स क्लबको ५० वर्षे यात्रालाई मानव सेवा, सामाजिक उत्तरदायित्व र जनहितका कार्यसँग जोड्दै स्वर्ण जयन्ती वर्षमा स्वास्थ्य, वातावरण संरक्षण र समुदाय हितका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।