जनकपुरधाम, १९ असार । राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. श्याम नारायण लाभ नियुक्त भएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार उनलाई उपकुलपति नियुक्त गरेका हुन् ।

उनको नियुक्तिपछि राजर्षिजनक विश्वविद्यालय परिवारले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

विश्वविद्यालय परिवारले जारी गरेको शुभकामना सन्देशमा प्रा.डा. लाभको नियुक्तिले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक विकासले नयाँ गति लिने विश्वास व्यक्त गरिएको छ ।

शिक्षा क्षेत्रमा उनको लामो अनुभव, उच्च प्राज्ञिक छवि र सबल नेतृत्व क्षमताले विश्वविद्यालयलाई उच्च शिक्षाको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

सन्देशमा उपकुलपति लाभको नेतृत्वमा विश्वविद्यालयले प्राज्ञिक उन्नयन, खोज तथा अनुसन्धान, शैक्षिक गुणस्तर अभिवृद्धि र समग्र व्यवस्थापकीय सुधारमा उल्लेखनीय फड्को मार्ने विश्वास व्यक्त गरिएको छ ।

साथै, आगामी दिनमा शिक्षक, कर्मचारी र विद्यार्थीबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै विश्वविद्यालयलाई नयाँ उचाइमा पुर्‍याउन उनको नेतृत्व सफल हुने अपेक्षासहित विश्वविद्यालय परिवारले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।