सिरहा, १७ असार । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसको दुर्घटनामा परी एक ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ ।

मंगलबार अपराह्न करिब ४ बजे विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसबाट बालिकालाई ओराल्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिकालाई झारेर बस अगाडि बढ्ने क्रममा पछाडिको चक्काले किच्दा बसका सहचालक लहान नगरपालिका–२२ का २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत ५ वर्षीया समिक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक समिक्षा सप्तरीको बोधेबरसाइन नगरपालिका–८ काचन स्थायी घर भएकी हुन् । उनी हाल मावलीको घर सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सामा बस्दै आएकी थिइन् ।

दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।