जनकपुरधाममा उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु

जनकपुरधाम, १६ असार । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा उपमेयर कप अन्तरविद्यालय महिला कबड्डी प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा आयोजित समारोहबीच गरेका हुन् ।
प्रतियोगितामा जनकपुरधाम उपमहानगरपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयका छात्रा टोलीले सहभागिता जनाएका छन् ।
गोगल प्रसाद नमूना माध्यमिक विद्यालय बसहिया, याज्ञवल्क्य संस्कृति नमूना माध्यमिक विद्यालय ज्ञानकुप, रामजानकी माध्यमिक विद्यालय, माध्यमिक विद्यालय मुजेलिया, माध्यमिक विद्यालय रूपैठा, सरस्वती माध्यमिक विद्यालय कनकपट्टी तथा संकटमोचन रामरती माध्यमिक विद्यालयलगायतका टोलीबीच प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख साहले खेलकुदले शारीरिक स्वास्थ्यसँगै अनुशासन, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले महिला तथा किशोरीलाई खेलकुदमा समान अवसर उपलब्ध गराउनु समयको आवश्यकता रहेको उल्लेख गर्दै विद्यालय तहबाटै खेल संस्कृतिको विकास गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए ।
उनका अनुसार महिला खेलाडीको प्रतिभा पहिचान गर्ने, खेलप्रति आकर्षण बढाउने तथा विद्यालयस्तरमै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले उपमेयर कप महिला कबड्डी प्रतियोगिताको आयोजना गरिएको हो ।
यस्ता प्रतियोगिताले छात्राहरूमा आत्मविश्वास, टोली भावना र नेतृत्व विकासमा सकारात्मक योगदान पुग्ने विश्वास पनि उनले व्यक्त गरे ।
आयोजकका अनुसार पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट टोली र खेलाडीलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताले विद्यालय तहबाट नयाँ महिला खेलाडी उत्पादन गर्न र महिला खेलकुदको प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

