कोशी प्रदेशलाई निको कप महिला टी–२० क्रिकेटको उपाधि

जनकपुरधाम, १४ असार । निको कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८३ को उपाधि कोशी प्रदेशले जितेको छ ।
पर्साको वीरगञ्जमा आइतबार सम्पन्न फाइनल खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै कोशी प्रदेश च्याम्पियन बनेको हो ।
मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा भएको प्रतियोगिताका अधिकांश खेल जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा खेलाइएका थिए । एक सेमिफाइनल र फाइनल खेल भने वीरगञ्जमा सम्पन्न गरिएको थियो ।
फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको थियो । टोलीका लागि काजल श्रेष्ठले ५१ बलमा सर्वाधिक ३८ रनको योगदान दिइन् । प्रीसा राना मगरले १६, रुवीना क्षेत्रीले १२ तथा लखिता राजवंशीले १० रन जोडिन् ।
एपीएफका तर्फबाट सुमन विष्ट, सवनम राई, कविता जोशी र सीता राना मगरले समान एक–एक विकेट लिइन् ।
९९ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफ क्लब कोशीको अनुशासित बलिङसामु टिक्न सकेन । एपीएफको पूरा टोली १९.५ ओभरमा ८७ रनमै समेटिएपछि कोशीले ११ रनको महत्वपूर्ण जित निकाल्यो ।
एपीएफका लागि कविता जोशीले १४ र रेवती धामीले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा टोली उपाधिबाट वञ्चित भयो ।
कोशी प्रदेशको जितमा रुवीना क्षेत्रीले ३ विकेट लिइन् भने रिमा शर्मा र निरु राजवंशीले समान २–२ विकेट हात पारिन् । टिका साह र अप्सारी बेगमले एक–एक विकेट लिए ।
फाइनलमा उत्कृष्ट प्रदर्शन गरेकी कोशीकी काजल श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
प्रतियोगितामा सातवटै प्रदेशका टोलीसँगै एक विभागीय टोली गरी कुल आठ टोलीको सहभागिता रहेको थियो ।

