मधेश प्रदेशमा ११ महिनामा ७,३१७ सवारी दुर्घटना, ४८५ जनाको मृत्यु

जनकपुरधाम, १३ असार । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मधेश प्रदेशमा सवारी दुर्घटनाको उच्च तथ्याङ्क सार्वजनिक भएको छ । यस अवधिमा कुल ७ हजार ३१७ सवारी दुर्घटना हुँदा ४८५ जनाको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।
त्यस्तै, सोही अवधिमा १० हजार ९५७ जना घाइते भएका छन् । दुर्घटनाको संख्या उच्च भए पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मृतक तथा घाइतेको संख्यामा कमी आएको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवराज न्यौपानेका अनुसार अधिकांश दुर्घटना मानवीय लापरबाहीका कारण हुने गरेका छन् । उनका अनुसार चालकको लापरबाही, ट्राफिक नियमको उल्लङ्घन, गति नियन्त्रणमा कमजोरी तथा असावधानी नै दुर्घटनाका प्रमुख कारण बनेका छन् ।
उनले भने, ‘दुर्घटनाको संख्या अझै उच्च रहे पनि मृतक र घाइतेको संख्यामा कमी आउनु सकारात्मक संकेत हो । दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु तथा सर्वसाधारणमा ट्राफिक सचेतना अभिवृद्धि, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन र नियमित निगरानीलाई थप प्रभावकारी बनाएका छौँ ।’
प्रहरीका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म भएका कुल दुर्घटनामध्ये ७ हजार २०० दुर्घटना मानवीय लापरबाहीका कारण भएको तथ्याङ्कले देखाएको छ ।
गत आर्थिक वर्षको तुलनामा केही सुधार देखिएको छ । गत आर्थिक वर्षभर मधेस प्रदेशमा ७ हजार ४४३ सवारी दुर्घटना भएका थिए । उक्त अवधिमा ५६४ जनाको मृत्यु र १२ हजार १२३ जना घाइते भएका थिए ।
तुलनात्मक रूपमा हेर्दा चालु आर्थिक वर्षमा मृत्यु हुनेको संख्या ३२ ले र घाइते हुनेको संख्या १५५ ले घटेको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यसैबीच, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि गरिएको कारबाहीबाट उल्लेख्य मात्रामा राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ लाख ८५९ सवारी साधनमाथि कारबाही गर्दा १० करोड १३ लाख १८ हजार १५९ रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यसैगरी, यातायात व्यवस्था कार्यालयमार्फत ६३३ सवारी साधनमाथि कारबाही गरी थप १ करोड १२ लाख ४६ हजार ५९९ रुपैयाँ राजस्व संकलन गरिएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटना न्यूनीकरणका लागि आगामी दिनमा निगरानी कडाइ, सचेतनामूलक कार्यक्रम विस्तार तथा ट्राफिक नियम कार्यान्वयनलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।

