सुनसरी, ११ असार । सुनसरीको धरानस्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला वितरण गरिएको छ ।

सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै स्थानीय विदुरमणि नेपाल र उनकी पत्नी अनिसा नेपालले धरान–१४ स्थित दन्तकाली माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरेका हुन् ।

विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययनरत विपन्न तथा आवश्यकतामा रहेका विद्यार्थीहरूलाई झोला प्रदान गर्दै उनीहरूले शिक्षामा पहुँच र निरन्तरताका लागि सानो सहयोगले पनि ठूलो अर्थ राख्ने विश्वास व्यक्त गरेका छन् ।

झोला वितरण कार्यक्रमबाट लाभान्वित विद्यार्थी तथा अभिभावकहरूले यस सहयोगले बालबालिकाको अध्ययनप्रति उत्साह बढाएको बताए ।

विद्यालय परिवारले समेत नेपाल दम्पतीको सामाजिक योगदानको प्रशंसा गर्दै यस्ता सहयोगी कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने जनाएको छ ।

शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको उक्त कार्यलाई स्थानीयवासीहरूले अनुकरणीय सामाजिक अभियानका रूपमा लिएका छन् ।

आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक आवश्यकतामा सहयोग पुर्‍याउँदै नेपाल दम्पतीले समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गरेको भन्दै विभिन्न तहबाट प्रशंसा व्यक्त गरिएको छ ।