लखनउ, ०८ असार । भारतको उत्तर प्रदेशस्थित लखनउमा रहेको एक कोचिङ सेन्टरमा भएको भीषण आगलागीमा १४ जनाको मृत्यु भएको छ । अधिकांश मृतक किशोरकिशोरी रहेको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले घटनामा कम्तीमा १४ जनाको ज्यान गएको पुष्टि गरेका छन् ।

उनका अनुसार घटनास्थलबाट शुरुवाती चरणमा १३ शव निकालिएको थियो भने उनले स्वयं १४ शव देखेको बताएका छन् ।

प्रारम्भिक जानकारीअनुसार आगलागी भएको भवनमा एनिमेसन तथा कार्टुन निर्माणसम्बन्धी तालिम सञ्चालन हुँदै आएको थियो । त्यहाँ १६ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका थिए ।

उपमुख्यमन्त्री पाठकले आगलागी अचानक भएको बताउँदै घटनाको वास्तविक कारणबारे तत्काल कुनै स्पष्ट जानकारी प्राप्त नभएको बताए । आगलागी कसरी सुरु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

घटनापछि उद्धार टोली, दमकल र सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालन गरिएका छन् । घाइते तथा प्रभावितको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो घटनाले उत्तर प्रदेशमा शोकको वातावरण सिर्जना गरेको छ भने आगलागीको कारण र सुरक्षा व्यवस्थाबारे व्यापक अनुसन्धान सुरु गरिएको छ ।