सडक सुरक्षामा मधेश संकटग्रस्त, दैनिक औसत १२ दुर्घटना

जनकपुरधाम, ०४ असार । मधेश प्रदेशमा पछिल्लो पाँच वर्षको अवधिमा सडक दुर्घटना भयावह बन्दै गएको तथ्यांक सार्वजनिक भएको छ ।
प्रदेशभर आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म २१ हजार ९८९ वटा सडक दुर्घटना हुँदा २ हजार ७४८ जनाले ज्यान गुमाएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा ४२ हजार ६३७ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।
दुर्घटनाका कारण १० हजार ८६६ जना गम्भीर घाइते भएका छन् भने ३६ हजार ४४२ जना सामान्य घाइते भएका छन् । यसले मधेशमा सडक सुरक्षा गम्भीर चुनौतीका रूपमा रहेको देखाएको छ ।
धनुषामा सबैभन्दा बढी दुर्घटना
जिल्लागत विवरणअनुसार मधेश प्रदेशमा सबैभन्दा बढी सडक दुर्घटना धनुषा जिल्लामा भएका छन् ।
पाँच वर्षको अवधिमा धनुषामा ४ हजार ८६८ दुर्घटना हुँदा ४२८ जनाको मृत्यु भएको छ । यस अवधिमा २ हजार ९४३ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनाको संख्याका आधारमा बारा दोस्रो स्थानमा रहेको छ । बारामा ४ हजार ४६८ दुर्घटना हुँदा ४१६ जनाको मृत्यु भएको छ भने ७८१ जना गम्भीर घाइते भएका छन् ।
सर्लाहीमा ४ हजार ७२ दुर्घटना हुँदा ३३६ जनाले ज्यान गुमाएका छन् र २ हजार १३२ जना गम्भीर घाइते भएका छन् । सिरहामा ३ हजार ५२६ दुर्घटनामा ३७९ जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना गम्भीर घाइते भएका छन् ।
त्यस्तै, सप्तरीमा ३ हजार ७२० दुर्घटनामा ३८३ जनाको मृत्यु भएको छ । रौतहटमा ३ हजार ४०३ दुर्घटनामा ३०० जनाले ज्यान गुमाएका छन् भने महोत्तरीमा ३ हजार ९१ दुर्घटनामा २९८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।
पर्सामा सबैभन्दा कम दुर्घटना
प्रदेशका आठ जिल्लामध्ये पर्सामा सबैभन्दा कम सडक दुर्घटना भएको देखिएको छ । पाँच वर्षमा पर्सामा २ हजार ३५ दुर्घटना हुँदा २०८ जनाको मृत्यु भएको छ भने ३६५ जना गम्भीर घाइते भएका छन् ।
यद्यपि दुर्घटनाको संख्या अन्य जिल्लाको तुलनामा कम भए पनि ज्यान गुमाउने र घाइते हुनेको संख्या उल्लेखनीय रहेको देखिन्छ ।
उक्त तथ्यांक राष्ट्रिय सडक सुरक्षा परिषद्, भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेश तथा एशियाली विकास बैंकको संयुक्त आयोजनामा सम्पन्न सडक सुरक्षा सम्बन्धी कार्यशालामा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओम अधिकारीले प्रदेशको बढ्दो जनसंख्या, सवारी साधनको चाप र सडक सञ्जालको विस्तारका कारण दुर्घटना नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताए ।
उनले ट्राफिक व्यवस्थापन, सडक अनुशासन र जनचेतनामूलक अभियानलाई प्रभावकारी बनाउन सबै निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।
ट्राफिक सुरक्षासम्बन्धी नीति निर्माणमा ट्राफिक प्रहरीको सुझावलाई पर्याप्त स्थान नदिइएको तथा बजेट अभावका कारण प्रभावकारी कार्यक्रम सञ्चालनमा कठिनाइ भएको उनको भनाइ थियो ।
तथ्यांकले मधेश प्रदेशमा औसत रूपमा हरेक दिन करिब १२ वटा सडक दुर्घटना हुने र प्रत्येक दुई दिनमा कम्तीमा एक जनाभन्दा बढी व्यक्तिले ज्यान गुमाउने अवस्था रहेको देखाएको छ ।
तीव्र गति, ट्राफिक नियम उल्लङ्घन, सडक पूर्वाधारका कमजोरी तथा सवारी चालकको लापरवाही दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका छन् ।
सडक दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न प्रभावकारी ट्राफिक व्यवस्थापन, कडा कानुनी कार्यान्वयन र व्यापक जनचेतना अभियान अपरिहार्य रहेको सरोकारवालाहरूको भनाइ छ ।

