रौतहट, ०४ असार । रौतहटको गढीमाई नगरपालिका–२ समनपुर बजारस्थित गरुडा–समनपुर सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक वृद्धको मृत्यु भएको छ ।

बिहीबार दिउँसो समनपुरबाट हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ अघि बढिरहेको प्रदेश २–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गढीमाई नगरपालिका–४ सुन्दरपुर निवासी ६० वर्षीय रामानन्द महरा गम्भीर घाइते भएका थिए । उनको ढाड र शरीरका अन्य संवेदनशील भागमा गम्भीर चोट लागेको थियो ।

घाइते महरालाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।

दुर्घटनामा संलग्न ट्र्याक्टर चालक गरुडा नगरपालिका–५ निवासी ३९ वर्षीय रामकिशुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन नगरेको र उनीसँग वैध सवारी चालक अनुमति पत्र रहेको खुलेको प्रहरीले जनाएको छ ।

यता, दुर्घटनापछि मोटरसाइकल चालक भने घटनास्थलबाट फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।